१३ आश्विन २०८३, मंगलवार September 29, 2026

थारु गाउँमा सखियाको रौनक

१३ आश्विन २०८३, मंगलवार
थारु गाउँमा सखियाको रौनक

धनगढी, १३ असोज । कैलालीको थारु बस्तीमा परम्परागत सखिया नाचको रौनक सुरू भएको छ ।
दसैं नजिकिएसँगै थारु समुदायले गाउँघरमा सखियाको ‘पैँया’ (सखिया नृत्य) देखाउन थालेका हुन् । अट्वारी पर्व लगत्तै सखियाको पैँया सुरू गर्ने चलन रहेको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका सूर्य चौधरीले बताए ।
यो पर्व सकिएपछि गाउँघरमा दसैँको तयारीस्वरूप परम्परागत एवम् मौलिक नृत्य सखिया नाचको पैँया लगाउन थालिएको छ । विभिन्न गाउँका महिलाले साँझपख सामूहिक रूपमा सखिया नाच नाच्न थालेका छन् ।
कैलारी गाउँपालिका–६ बेनौली गाउँ पनि सखिया नाच नाच्नका लागि बजाइने मादलको तालले गुञ्जायमान हुन थालेको छ । यो गाउँका महिला, युवतीले सखियाको पैँया लगाउन थालेका छन् । पैँया गीतविहीन नृत्य रहेको बताइन्छ । दसैंमा भने गीत गाउँदै सखिया नाच देखाइने गरेको जनाइएको छ ।
अट्वारी पर्व मनाइ सकेपछि गाउँमा सखियाको पैँया लगाउन थालिएको बेनौलीका सखिया नाचको मंदरिया (मादल बादक) वेद्प्रसाद महतोले बताए । उनले हरेक साँझबाट पैँया लगाउने कार्य सुरू भइ राति १० बजेसम्म सखियामा रमाउन थालिएको जानकारी दिए ।
महतोले भने, “अब यहाँबाट दसैंसम्म गाउँमा सखिया नाचको पैँया लगाउँछौं ।”
मादल र मजिराको तालमा युवती वा महिलाले सामूहिक रूपमा सखिया नाच नाच्ने गर्दछन् । मादल बजाउने ‘मंदरिया’को निर्देशन र मादलको ताल (खोट)अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्छ । साथी सङ्गीहरू मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भनिएको हो ।
थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । साथीहरु मिलेर नाच्ने नाच भएकोले यसलाई सखिया नाच भनिएको बताइन्छ । सखिया नाच थारु समुदायको मौलिक लोक नृत्य हो ।