१३ आश्विन २०८३, मंगलवार September 29, 2026

किसानलाई राहत र व्यवस्थापनको माग

१२ आश्विन २०८३, सोमबार
किसानलाई राहत र व्यवस्थापनको माग

काठमाडौं, १२ असाोज । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारी बेवास्ता र प्राकृतिक विपत्तिको दोहोरो मारमा किसान पिल्सिएको भन्दै तत्काल राहत र व्यवस्थापनको माग गरेकी हुन् ।
सांसद कठरियाले हरेक वर्ष असार महिनामा किसानले मलको हाहाकार व्यहोर्नुपर्ने नियति दोहोरिइरहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् ।
समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने निश्चित प्रायः छ भने, अर्कोतिर अविरल वर्षाका कारण खेतमै बाली नोक्सान भएपछि किसान थप संकटमा परेका छन् ।
किसानले दुःख गरेर उत्पादन गरेको धान बिक्री गर्न समेत कठिनाइ भोगिरहेको उनले जिकिर गरिन् ।
खाद्य संस्थानहरूमा हप्तौँ लाइन बस्दा समेत सरकारले तोकेको न्युनतम समर्थन मूल्य पाउन नसक्दा किसानहरू बाध्य भएर कौडीको भाउमा व्यापारीलाई बाली बेच्न विवश भएको सांसद कठरियाको भनाइ छ ।
‘समयमा मल दिन नसके पनि कम्तीमा अहिले बाली उठाउने बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनु आवश्यक छ,’ उनले भनिन् ।
उनले स्थानीय तहहरूसँग प्रत्यक्ष समन्वय गर्दै तत्काल प्रभावकारी रूपमा धान खरिदको प्रक्रिया अघि बढाउन र किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरिन् ।
अनलाइनबाट