धनगढी, ८ असोज । कैलालीको कैलारी गाउँपालिका–१ बिसनपुरका ६१ वर्षीय चुल्हुवा चौधरीको घर वरिपरि बाँसघारी छ । घरायसी कामकाजमा प्रयोगका लागि बाँस रोप्नु भएका चौधरी अब भने बाँसबाटै आम्दानी गर्न थालेका छन् ।
बाबुबाजेले सिकाएको परम्परागत सिप उपयोग गरेर उनले बाँसको सामग्रीबाट आम्दानी गर्न थालेका हुन् । उनले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने भाँडो) बनाइ बिक्रीवितरण गरिरहेका छन् । चौधरी भन्छन्,“बाँस आफ्नै घरमा छ । बसिबियालो गर्दै बाँसबाट अलि–अलि कमाइ गरिरहेको छु ।”
बाँसको चोयाबाट छिटुवा, डिलिया बनाउन पोख्त चौधरी एक महिनामा १० वटा छिटुवा र २० वटासम्म डिलिया तयार पार्ने गरेका छन् । आफूले बनाएको बाँसका ती सामग्रीलाई उहाँले आफ्नै गाउँदेखि लिएर आसपास रहेका मनाउँ, मझरा, हसुलिया, पवेरा, मनिकापुरदेखि लिएर भर्री लगायतका गाउँसम्म डुलेर उनले आफ्नो सामग्री बिक्री गर्दै आएका छन् । “आज विहानमात्रै दुई हजार रुपियाँको सामग्री बिक्री गरिसकेको छु”, उनले भने ।
चौधरीले प्रति छिटुवा पाँच सय र डिलिया दुई सय रुपियाँको दरले बिक्री गर्दै आएका छन् । माछा पारखी थारु समुदायका मानिसले डिलियामा माछा राख्ने गर्दछन् । यसैगरी, तरकारीदेखि लिएर घाँस, दाउरा छिटुवामा राखेर बोक्ने गर्दछन् । यी सामग्री गतविगतदेखि नै थारु समुदायमा उपयोग हुँदै आएको छ ।
समुदायको माग अनुसार आफूले छिटुवा, डिलिया बिक्री गरी कमाएपछि घर गुजारा गर्न निकै सहज भएको चौधरीको भनाइ छ ।