७ बैशाख २०८१, शुक्रबार April 19, 2024

भजनी बाढी पीडितको पीडा : न राहत पायौं, न त बस्ने कुनै ठेगान छ !

२४ मंसिर २०७८, शुक्रबार
भजनी बाढी पीडितको पीडा : न राहत पायौं, न त बस्ने कुनै ठेगान छ !

धनगढी । चिसो बढ्दै गएको रात । अनि, त्रिपाल छिरेर ओछ्यासम्म आइ पुगेको शीत । यसले अचेल बमबहादुर डङ्गौराको निद्रा बिथोलिन्छ । जाडोले निद्रा लुटेको रात काट्न आगो न तापी हुँदैन । त्रिपाल बाहिर बालेको आगो तापेर बाँकी रात बित्छ । ‘घर बिनाको हिउँदको रात काट्न गाह्रो छ’, बमबहादुरले भने । ‘बाढीले घरखेत लग्यो, अहिले चिसोले निद्रा ।’

गत साउन कान्द्रा नदीमा आएको भेलले । कैलालीको भजनी नगरपालिका–५ लालबोझीका उनको उठीबासमात्रै गराएन । सन्तानले अङ्शबण्डाका क्रममा दिएको घडेरी र सो आसपासको गरी चार कट्ठा जमिन पनि लग्यो । प्रकृति क्रुर भएको त्यो दृश्य सम्झेर अझै पनि बमबहादुरको मन अमिलो हुन्छ ।

‘दुई छोराहरु अङ्शबण्डा गरेर छुट्टाछुट्टै बसि हाले । बुढेसकालमा खानका लागि भनेर उनीहरुले मलाई चार कट्ठा जग्गा दिएका थिए । तर, यहि वर्षको साउनमा आएको बाढीले हेर्दाहेर्दै सबै जग्गा कटान गरेर लग्यो’, उनले भने ।

गत साउनको बाढीले घरबारविहीन बनाएपछि उनी त्रिपालमुनि बस्दै आएको साढे तीन महिना पुगेको छ । नदीले घरखेत कटान गरेपछि बमबहादुर जस्तै लालबोझीका अन्य चार परिवार पनि विस्थापित छन् । विस्थापित पाँचै परिवार बसन्ता कोरीडोरस्थित हुलाकी राजमार्गमा साढे तीन महिनादेखि त्रिपालमुनि बस्दै आएका छन् ।

गर्मी यामभरि घामपानी सहेर कष्टकर जीवन बिताएका ती विस्थापित अब चिसो रातसंग जुझ्दै छन् । बढ्दै गएको चिसोले उनीहरुको स्वास्थ्य समस्यासमेत हुने गरेको छ । नदीले घरखेत बाँकी नराखेपछि सडकमा आइपुगेको भन्दै विस्थापित भुख्लीदेवी डङ्गौराले भनिन्–‘चिसो बढेपछि पालैपालो बिरामी पनि पर्ने गरेका छौं ।’

विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले त्रिपाल बाँडेको थियो । साउनमा दिएको त्रिपाल घामशीतका कारण कुहिन थालेको छ । कुहिएर ठाउँ–ठाउँमा प्वाल परेको त्रिपालले शीत रोक्न सकेको छैन ।

आफ्नो जग्गा नरहेको र कसैले ठाउँ नदेखाइ दिएका कारण कष्टकर जीवन बिताइरहेको बमबहादुरले दुखेसो गरे । ‘न हामीलाई राहत मिल्यो न त अहिलेसम्म बस्ने कुनै ठेगान छ’, उनले भने । ‘कहिँकतै जग्गामात्रै देखाइ दिएको भए जसोतसो झुप्रो हाल्न हुन्थ्यो ।’राजमार्गमा त्रिपाल टाङ्गेर बस्दा वनका कर्मचारीले त्यहाँबाट हट्न दबाब दिदैं आएको उल्लेख गर्दै बमबहादुर अगाडि थपे–‘अहिलेसम्म हातजोड बिन्ती गरेर हामी यहाँ छौं ।’

विस्थापित चार परिवार खेत अधियाबटैयाँ लिएर गहुँ खेती गरिरहेका छन् । तर, ज्येष्ठ जीवनमा प्रवेश गरि सकेका बमबहादुर र उनकी श्रीमतीले अब त्यो पनि गर्न सक्ने अवस्था छैन । आफ्नो भएको जग्गाजमिन नदीले बगाएपछि आफन्तको सहारामा बाँचिरहेको भुख्लीदेवी बताउँछिन् ।
‘अङ्शबण्डा गरेर छोराहरु छुट्टै बसेकाले त्यति मतलब गर्दैनन्’, उनले भनिन् । ‘चामल, तरकारी छोरीले पठाइ दिएपछि त्यहि खाएर गुजारा गर्ने गरेका छौं ।’

साउनमा आएको बाढीले घरेडीसहित जग्गा जमिन कटान गरेपछि केही दिनसम्म ती परिवार लालबोझीमै हुलाकी सडकमा बसेका थिए । पछि साउन अन्तिमतिर पाँचै परिवार हिम्मतपुर नजिक हुलाकी सडकमा सरेको बताइएको छ । त्यसपछि अहिलेसम्म सोही ठाउँमा बसिरहेको बमबहादुर उल्लेख गरे ।

उनले अहिलेसम्म सरकारबाट राहत नपाएको गुनासो गर्दै बसोबासको व्यवस्था गरि दिन आग्रह गरे । ‘केही नभए, सरकारले कतै झुप्रो बनाउने ठाउँ देखाइ दिनुपर्छ’, उनले भने । ‘यसरी त्रिपाल मुनि त कहिलेसम्म बस्न सकिने ?’

बाढी प्रभावित ती विस्थापितहरुलाई गाँस, बासको चिन्ता त छ नै । साथै, छिप्पिदैं गएको जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले पिरोलेको छ । यसैगरी, सोही नगरपालिकाको वडा नम्बर ७ हिम्मतपुरका मोहना नदीबाट प्रभावित केही परिवार पनि त्रिपाल टाङ्गेर नै बस्दै आएका छन् । केही परिवारले भने झुप्रो बनाइसकेका छन् । मोहना नदीले जग्गाजमिन कटान गरेपछि उनीहरु पनि यसैवर्ष विस्थापित भएका हुन ।

विस्थापित भएका परिवारलाई नगरपालिका र केही सङ्घसंस्थाले सामान्य सहयोग गरेको भजनी नगरपालिकाका विपद् श्रोत व्यक्ति खेम पनाडीले बताए । ‘नगरपालिकाले प्रति परिवारलाई पाँच÷छ हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ’, उनले भने । ‘तर, घरबास नभएका परिवारलाई आर्थिक सहयोगभन्दा पनि स्थायित्वको खाँचो हो । राज्यले उनीहरुको उचित बसोबासको व्यवस्था गर्नु पर्दछ ।’

विस्थापितलाई वन क्षेत्रबाट हट्नका लागि वन कार्यालयले उर्दी जारी गरिसकेको छ । उनीहरु आफै नहटे, वनले हटाउने जानकारी गराइ सकेको पनाडीले बताए । ‘अब धेरै समयसम्म उनीहरु वनक्षेत्रस्थित हुलाकी राजमार्ग बस्न पाउँदैनन्’, उनले भने । ‘वनले हटाउँछ, होला ।’