१८ जेष्ठ २०८३, सोमबार June 1, 2026

पञ्चवर्षीय योजनाको मसौदा पारित

१८ जेष्ठ २०८३, सोमबार
पञ्चवर्षीय योजनाको मसौदा पारित

धनगढी, १८ जेठ । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को शनिबार बसेको चौथो बैठकले आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्मका लागि तयार पारिएको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले पारित गरेको मसौदालाई मन्त्रीपरिषद्मा पेस गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

प्रदेश नीति तथा योजना आयोगले तयार गरेको उक्त योजना विभिन्न आधारमा टेकेर निर्माण गरिएको छ । योजनाको तयारीमा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, नेपाल सरकारको १६ औँ योजना, संविधान, ऐन नियम, आर्थिक सर्वेक्षण, तथा विभिन्न सरोकारवालासँगको व्यापक छलफललाई समेटिएको छ ।

योजनाले ‘समुन्नत सुन्दर सुदूरपश्चिम’ लाई दीर्घकालीन सोचका रूपमा अगाडि सारेको छ । यसै गरी प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्नु मुख्य लक्ष्य राखिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्धनलाई योजनाले प्रमुख उद्देश्यका रूपमा समेटेको छ ।

योजनाले जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा विपत् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकता दिएको छ । शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी र रोजगारमुखी उच्च शिक्षाको विकास गर्ने लक्ष्य लिइएको छ । छात्रवृत्ति कार्यक्रम, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान प्रवर्धन तथा सिप विकासमा जोड दिइने योजनाको लक्ष्य छ । यस योजना अन्तर्गत कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राख्दै आर्थिक वृद्धि हासिल गर्ने, यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विकास गर्ने तथा सामाजिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्ने रणनीति अगाडि सारिएको छ ।

प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन, डिजिटल रूपान्तरण र समावेशी आर्थिक विकासतर्फको महìवपूर्ण मार्गनिर्देशक दस्ताबेजका रूपमा लिएको जनाइएको छ ।