२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

आफ्नो भाषा कला संस्कृति संरक्षण गर्न सबै जुटौं : मुख्यमन्त्री भट्ट

२० मंसिर २०७८, सोमबार
आफ्नो भाषा कला संस्कृति संरक्षण गर्न सबै जुटौं : मुख्यमन्त्री भट्ट

सुखड । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो भाषा कला संस्कृतिलाई संरक्षण गर्नु पर्ने बताएका छन् ।
सोमबार घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले विभिन्न जातजातिको भाषा कला संस्कृति लोप हुन लागेको हुँदा सबैले संरक्षण गर्नमा लाग्नु पर्ने जोड दिएका हुन् ।

मुख्यमन्त्री भट्टले लोप हुन थालेका संस्कृतिहरूलाई संरक्षण गर्नका लागि प्रदेश सरकार पतिवद्ध रहेको बताए । प्रदेश सरकारले सुदूरपश्चिम भएका भाषा, कला, संस्कृतिहरूलाई प्रचार प्रसार गरेर अगाडि बढीरहेको उनले बताए । मुख्यमन्त्री भट्टले प्रदेशमा भएका विभिन्न कला संस्कृतिहरूलाई प्रचार प्रसार गर्न सके प्रदेश संस्कृतिमा धनी हुने बताए ।
सम्बोधनकै क्रममा मुख्यमन्त्री भट्टले थारु समुदायमा रहेको भल्मन्सा प्रथालाई कानुनी मान्यता दिनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । त्यसका लागि थारु वुद्धिजीवी, थारु अगुवाहरु सँग छलफल गरेर काम अगाडि बढाउने उनले बताए । थारु समुदायमा कुनै पनि काम गर्दा भल्मन्साहरुको नेतृत्वमा गर्नुका साथै गाउँको अगुवा समेत भल्मन्साले गर्ने भएकाले कानुनी मान्यताको आवश्यकता रहेको बताए ।
घोडाघोडी तथा संस्कृति संरक्षण समाजले मुख्यमन्त्री भट्टलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको थियो । बरघर, भल्मन्सा प्रथालाई प्रदेश सरकारले नीति बनाई स्थानीय सरकार सँग सहकार्य गरी कानुनी मान्यता दिनु पर्ने, घोडाघोडी मन्दिरमा नयाँ मन्दिर निमार्णको लागि पहल गर्नुपर्ने लगायत माग सहित ज्ञापन पत्रमा बुझाएका थिए ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरी, राष्ट्रिय सभा सदस्य हरि राम चौधरी‘उत्सव’, घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी, जनप्रतिनिधिहरू,राजनीतिक दलका नेताहरू लगायत विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।
थारु परम्परा, कला, सस्कृितको पबद्र्धन, सास्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको हो । कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेष गरी थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बर्का नाच, महिलाहरुद्धारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारु समुदायको स्थानीय प्रतिभाहरूको संरक्षण संम्वद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियता स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।
महोत्सवमा थारु संस्कृतिका व्यावसायिक सामाग्रीको प्रदर्शनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति, थारु जनजाति तथा आदिवासी समुदायको रहन सहन भेषभुषाका साथै विभिन्न थारु नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ ।
घोरीघोरा मन्दिर विशेष गरी थारुहरूको कुल देउताको रुपमा मानिने भएकाले यसको धार्मिक मान्यता र महत्व रहेको छ । महोत्सवले सामाजिक पहिचानलाई पनि चिनाउने र नयाँ पुस्तालाई घोरीघोराको कुल देउताको महत्वको साथै थारु रीतिरिवाज पूजा गर्ने विधि परम्परालाई पुस्तानतरण गर्ने पनि महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।
पश्चिम तराईका थारुहरूको आस्थाको प्रतीक मानिने धार्मिक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीकृत घोरीघोरा मन्दिरमा हरेक वर्ष सामूहिक रुपमा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव मनाउने गरिन्छ । थारु संस्कृति पहिचानको लागी “हमार संस्कृति हमार पहिचान, थारु संस्कृति जोगाई पर्ना हमार अभियान” भन्ने मूल नाराका साथ महोत्सव मंसीर २२ गते सम्म गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
कुल देउताको रुपमा प्राचीन काल देखि नै मनाउँदै आई रहको लवाङ्गी पुजाले सामाजिक सद्भावका साथै पुर्खाहरूले विगतका समयमा पूजा गर्ने विधि विधान र घोरीघोरा देउथनुवाको धार्मिक मान्यतालाई वैधानिकता दिनका लागि प्रत्येक वर्ष मनाउँदै आइरहेको परम्परागत रित्ती रिवाज र संस्कृति संरक्षणबाट आफ्नो पहिचानका साथै सामाजिक परिचयको महत्वबारे एकताबद्ध गर्नका लागि यस वर्ष पनि पूजा सञ्चालन हुने आयोजकले जनाएको छ ।
थारु परम्परा अनुसार वर्ष भरी गरिएको खेती र जीवन रक्षाको लागि सामूहिक रुपमा आफ्नो कुल देउतालाई उत्पादन भएको अन्न र जीवन रक्षाको लागि थारु रीतिअनुसार सामूहिक रुपमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिलेसम्म चली आएको छ । घोडाघोडीको मुख्य मन्दिरमा कुखुरा, बोका, सुँगुर लगायतका बलिहरू समेत चढाउने गरिन्छ । बलि दिने कार्यमा भने थारु मात्र नभई गैर थारु समुदायहरूको पनि बाक्लो सहभागिता हुने गर्दछ । कैलालीका ८२ गाउँ सहित कञ्चनपुर, दाङ, बाके, बर्दिया लगायतका जिल्लाहरूबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।