९ आश्विन २०७८, शनिबार September 25, 2021

अष्टिम्की : प्रकृति र मानवजीवनको महिमा

१३ भाद्र २०७८, आईतवार १७:५०
अष्टिम्की : प्रकृति र मानवजीवनको महिमा

हरेक समुदायमा रहेको चाडवाड, उत्सव लगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति समुदायको आआफ्नै कला संस्कृतिहरू रहेको छन् । चाड पर्व, चालचलन रहेको छन् । यसले देशको सांस्कृतिक महत्वलाई जिवन्त बनाउँछ र एकार्काे समुदाय बीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ । आज थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अस्टिम्की’ को बारेमा केही चर्चा गरिनेछ ।

अष्टिम्की मुलतः थारू समुदायमा महिलाहरूको पर्व हो । र स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन् । यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ । अब लागौं यो पर्व के हो ? किन मनाइन्छ ? कसरी मानिन्छ ? भन्ने तिर । हरेक पर्वसँग पौराणिक, ऐतिहासिक अथवा लोक मान्यताहरू जोडिएका हुन्छन् र यिनै मान्यताहरू नै चाड पर्वका खास आधारहरू पनि हुन् । यसकारण अस्टिम्किीका लोक मान्यताहरू के के हुन् यस बारेमा जान्न जरुरी छ । खास गरेर अस्टिम्कीलाई तीन वटा मिथकीय मान्यताहरू प्रचलनमा रहेका छन् । १. लोककथा, २. अस्टिम्किक गीत र कृष्ण लिला । यसैले अस्टिम्की बुझ्नका लागि यी तीन वटा मिथकहरूका बारेमा चर्चा गरौं ।

१. लोककथा

जब गुर्बाबा (सृष्टिकर्ता)ले जल, थलको सृष्टि गरिसकेपछि वनस्पति हुँदै जीवजन्तुहरूको उत्पत्ति भयो । पृथ्वीमा मानिस सर्वश्रेष्ठ प्राणीको रुपमा देखा प¥यो । विभिन्न चरण पार गर्दै जब कृषि प्रणालीमा प्रवेश गर्छ । त्यसैबेला एक एउटा संयुक्त परिवार थियो । उनीहरू सात भाइ छोराहरू थिए । सबै भाइहरू मिलेर काम गर्थे र बर्षभरिलाई खेतबाट अन्न उत्पादन गर्थे । उनीहरू खेतीपाती सकिएपछि प्रत्येक वर्ष हलो, जुवा काट्न जंगल जान्थे ।

एक पटक साउन–भदौमा खेती सकिएपछि उनीहरू सातै भाइ हलो–जुवा काट्न जंगल निस्किए । जंगल टाढा थियो, यसकारण उनीहरूले एक दुइदिनको खर्च बोकेर गाएका थिए । यसरी जंगल गएका श्रीमान्हरू समयमा न आएपछि तिनीहरूका श्रीमतीहरू पनि आत्तिन थाले । उनीहरू गएकै दिनदेखि प्रत्येक दिन घर भिट्टामा धर्को तानेर चिनो चलाउँथे । दिन बिर्सिन्छ भनेर पहिले घरको भिट्टामा धर्को तान्ने चलन थियो । जब सातौं दिनसम्म पनि कोही नआएपछि उनीहरू चिन्तामा परे र उनीहरूको आश पनि टुट्यो । चिन्ताले गर्दा आठौं दिन उनीहरूले चुलो बारे । कुनै खान पाकेन, पानी समेत खाएनन् । बालबच्चाहरू बासी भात र बारीमा फलेका काँक्रा खाएर रहे ।

ठीक त्यसै साँझ सातै भाइ छोराहरू टुपलुक्क आइपुगे । घरमा निकै खुसियाली छायो । सबैले खाना, भात–भान्सा पनि वास्ता गरेनन् । सबै वृत्तान्त सुन्न र सुनाउनमै मस्त रहे । रात त्यसै बित्यो । तर घरमा एक जना कान नसुन्ने बुढीआमा थिइन् । उनले आँखाले देखेपनि कानले भने केही सुन्दैन थिइन । त्यसैले उनलाई पनि बुझ्न सकिलो होस भनेर एक भाइ छोरोले सबै वृत्तान्तहरू भित्तामा चित्रहरू मार्फत जनाउने कोसिस गरे ।

जब भाले बस्यो । सबै बुहारीहरू रातभरि खाएका काक्रो लगायतका फलफुल बोक्राहरू लिएर खोला तिर नुहाउन गए र मीठो पकवान तयार गरे । आफ्नो श्रीमान्हरूलाई खुवाइबरी सुखद् सन्देश बोकेर केही पाहुर लिएर आफ्नो चेलीबेटी कहाँ गए र सुख–दुःखका कुरा गरेर फर्किए । यसरी कालान्तरमा अस्टिम्की एउटा पर्वको रुपमा स्थापित भयो । अहिलेसम्म यो चलन कायमै छ ।

२. लोक कथा

थारु समुदायमा एउटा लोकगाथा छ ‘गुर्वावक जल्मौटि’ । जुन लोकगाथा थारु समुदायमको सबैभन्दा पुराना गाथाको रुपमा मानिन्छ । जसको सार यस्तो छ ।
कुनै समय यो पृथ्वी कुनै आकार थिएन अथवा पृथ्वी नै थिएन । पछि गुर्वावाले एउटा आकार दिए । सुरुमा यो पृथ्वीपुरै जल्मग्न थियो । यहाँ कुनै प्राणीहरू थिएनन् । गुर्वावा यो शुन्यतामा रहन सकेनन् । उनले पतालबाट माटो ल्याएर थलको विकास गरे । जहाँ सुरुमा कुशको सृष्टि गरे । कुश उम्रिएर हरियो भयो । त्यसपछि क्रमश अन्नबाली लगायत अन्य बनस्पतिहरूको सृष्टि गरे । त्यसैगरि मान्छे लगायत अन्य जीवजन्तुहरूको पनि सृष्टि गरे । जीवनप्रणालीको विकास पनि गरे । उनले हरेक बनस्पतिहरू समय अनुसार फुल्ने फल्ने भयो । जीवजन्तुहरूमा कुन जीव कति महिनामा जन्मने औसत उमेरसम्म बाँच्ने ? बनाए । मानिस सबैभन्दा बौद्धिक प्राणी बनाए । मानिसले अलग्गै जीवनशैलीको विकास ग¥यो । खेती प्रणालीको विकास ग¥यो आफ्नै शैलीमा बाँच्न थाल्यो ।

३. लोककथा

अस्टिम्किक गीत हेर्ने हो भने गुर्बाबाले यो पुरै सृष्टि गरेको देखाउँछ । जब गुर्बाबाले यो पृथ्वीको सृष्टि गरे । त्यसबेला यो पुरै जलमग्न थियो । पछि गुर्बबाले पातालबाट माटो ल्याउनको लागि गंगटोलाई पठाए । गंगटोलाई पाताललोकका पहरेदारहरूले नियन्त्रणमा लिन्छन् । त्यसपछि कुमालकोटी, बिच्छी लगायतको जीवहरूलाई माटो लिन पठाइन्छ तर सबै समान्छिन् । अन्तिममा गड्यौलालाई पठाइन्छ र उसले आफ्नो पेटमा माटो बोकेर ल्याउँछ । त्यही माटोले यो हामीले टेके जमीन बनाउँछ । त्यसपछि यहाँ विभिन्न बनस्पति, जीवजन्तुहरूको उत्पत्ति हुन्छ । मानिस सबैभन्दा बौद्धिक र सचेत प्राणीको रुपमा देखा पर्छ । मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यताको विकास गर्छ । जीवनयापनका लागि विभिन्न विकल्पहरू खोज्न थाल्छ । खेती प्रणालीको विकास हुन्छ ।

इसरू प्रमुख पात्र । उनी एउटा किसान परिवारमा जन्मिन्छन् । उनको विवाह जासुसँग हुन्छ । खेतीकिसानी भएकोले एक दिन हलो जुवा काट्न जंगल जन्छन् ।
जब काठ लिएर आएपछि हलो कसरी बनाउने उनलाई थाहा हुँदैन उनकी श्रीमति जासुले सिकाएपछि उनी हलो तयार गर्छन र त्यसैले खेतीपाती गर्छन ।

समय क्रम अनुसार जासु गर्भावती हुन्छन् । गर्भावती भएपछि गाउँको एक जना डेगिया भन्नेलाई इसरूले सोडेनी बोलाउन पठाउँछन् । सोडेनीको घर उनलाई थाहा हुँदैन । बोलाउन जाने आदेश भएपछि ऊ सोध्दै–सोध्दै जान्छ । बाटोमा सुरुमा बाख्रा चराउनेलाई सोध्छ, उसलाई थाहा हुँदैन, उसले भेडा चराउनेलाई सोध्न पठाउँछ, भेडा चराउनेलाई पनि थाहा हुँदैन उसले सुँगुर चराउनेलाई पठाउँछ । यसस्तै गाइ–गोरु, भैसी, घोडा, ऊँट, हात्ती चराउने सबैसँग सोध्दै, उसले कुवाँमा पानी लिन आएका महिला, जुत्ता सिउने सार्की, लुगा सिउने दमाइ, फलाम पिट्ने लोहार, सुनको गहना बनाउने सुनार, लुगा सबलाई सोध्छ तर कसैले भन्न सकेका हुँदैन । अन्त्यमा धुने धोबी कहाँ पुग्छ र धोबीले सुडेनीको घर बताइदिए पछि, उनी सुडेनी कहाँ पुग्छन् ।

पुगेर सुडनीलाई इसरूले लिन पठाएकबो सुनाउँछ । तर सुडेनीले ससम्मान मलाई हात्ती लिएर आए मात्रै जाने सुनाउँछिन् । डेगिया फर्किन्छ र इसुरुलाई सुडेनीको सन्देश सुनाउँछ । इसरू हात्ती लिएर डेगियालाई पठाउँछन् । हात्ती लिएर सुडनीको घर पुगेपछि हात्तीको सुपा जस्तो कान अजंगको शरीर देखेर उनी मुर्छा पर्छिन् । अर्कोपाली घोडा लिएर आउने आग्रह गर्छिन् । घोडा लिएर जाँदा घोडा कराएको सुनेर घोडामा पनि नआउने कुरा गर्छिन् । एवम् प्रकारले ऊँट लगायतका सवारीको माग गर्छन अन्तिममा उनी सुनको खात सहितको डोलीमा जान मन्जुर हुन्छिन् । उनी इसरूको घर पुगेर आफ्नो कर्तव्य पालना गर्छिन् । इसरू र जासुको पहिलो सन्तानको रुपमा कान्हा जन्मिन्छ ।

सुस्त–सुस्त कान्हा बढ्दै जान्छ । गाउँका केटाकेटीहरूसँग खेल्न थान्छ । बाख्रा चराउन सक्ने भएपछि आमाले उनलाई बाख्रा, गाइ–गोरु चराउन जाने आग्रह गर्दा उनले आफूसँग काठाके पौवा, लट्ठी, छाता नभएकोले नजाने आदान लिन्छ । उनको आमाले आज तेरो मामालाई बनाउन भन्छु, बनायो भने दिन्छु भनेर सम्झाएर पठाउँछिन् । उनी मामाको सबैभन्दा प्यारो भान्जा थिए । उनको मामाले उनले माँगेको सबै चिज बनाएर पठाइदिन्छन् ।

ऊ केही समयमा जवान हुन्छ । गाइ गोठालासँग रमाउन थाल्छ । उसलाई बाँसुरी बजाउने रहर जाग्छ तर उसको आफ्नो बासुरी हुँदैन । यो कुरा आफ्नो आमालाई सुनाउँछ । आमाले उनको मामालाई भन्छिन् । मामाले आफ्नो प्यारो भान्जाको लागि सुनको बाँसुरी बनाएर पठाइदिन्छन् ।

अब कान्हा बाँसुरी लिएर खुसी हुँदै गोठालो जान थाल्छन् । उनी अब्बल बाँसुरी बादक निस्किए । उसको बाँसुरीको सुरिलो उसकै माइजू उनको प्रेममा फस्छिन् । आफ्नै माइजूसँग उनको गहिँरो प्रेम सम्बन्ध गाँसिन्छ । आफ्नै भान्जासँग श्रीमति प्रेमजालमा फँसेको कुरा चाल पाएपछि मामालाई असह्य हुन्छ । तर अति माया गर्ने भान्जालाई कुनै पनि बहानामा केह ीगर्ने अवस्थामा थिएनन् । भाञ्जा मारे बाहुन मारे बराबर पाप हो भन्ने ठानेर उनले एक दिन भान्जा कान्हालाई नागराजको निगरानीमा रहेको फूल टिप्न पठाउँछन् । मामाले फुल टिप्न जाँदा नागराजले डसेपछि उनी मर्छन् र मात्र म मेरो श्रीमति पाउँछु भनेर । मार्नका लागि षडयन्त्रपूर्वक फूल टिप्न पठाउँछन् ।
मामाको इच्छा विपरित कान्हाले अस्वीकार गर्न सकेनन् । र, उनी खुशी साथ फूल लिन हिडे । पुगेर जब उनी फुल टिप्न खोज्छन् त्यसैबेला नागराजले डस्छ । उनी मुर्छा पर्छन । तर कान्हालाई उनकै प्रेमिका माइजूले नागराज डसेको उपचार सिकाएर पठाएकी थिइन । कान्हाले माइजूले सिकाएको विधि पुरा गरे । उनी फेरि ब्यूझिए र फूल ल्याएर आफ्नो मामालाई पूजाको लागि दिए । मामाको षडयन्त्र पनि कान्हालाई थाहा थियो । त्यसैले मामा जब उनले ल्याएको फूल चढाएर पूजा गरी ढोगिरहँदा कान्हाले तरवारले आफ्नो मामाको बध गरे । अन्त्यमा उनी आफ्नी माइजूसँग विवाह गरे ।

हस्तचित्र :

अष्टिम्कीमा घरको बहरी (प्रवेशद्वारको पहिलो कोठा, बैठक कोठा) को उत्तरपट्टिको भित्तामा हस्तचित्र बनाउने चलन छ । जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाएका हुन्छन् । जुन मानव जीवनशैलीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको हुन्छ । उहिले, अहिलेको जस्तो चित्र बनाउनका लागि प्रयाप्त रुपमा रंगहरू पाइदैनथ्यो । चित्र बनाउनका लागि सेमीको पात निचोरेर हरियो र पोइ भन्ने जातको पाकेको फलको निचोरेर रातो रंग बनाइन्थ्यो । त्यसैगरि अन्य रंगहरू पनि बनाइन्थ्यो । चित्र बनाउनु भन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता पोतिन्छ ।

चित्र बनाउनुभन्दा पहिले विभिन्न रंगहरूको बुट्टाले घेरा बनाइन्छ र त्यही घेराभित्तर चित्र बनाइन्छ । यो चित्र बनाउनको लागि कुनै बिशेष कालीगढको जरुरत पर्छ भन्ने छैन । यो चित्र सिकारुहरूले पनि बनाउन सक्छन् । घेराभित्र पनि तीन वटा कोठा हुन्छ । त्यसको माथि अर्को सानो कोठा हुन्छ । जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ । जुन उल्टो पारेर बनाइन्छ ।

तीन वटा कोठा मध्ये माथिल्लो कोठामा विजोर संख्यामा पुरुषाकृति बनाइएको हुन्छ । यसमा तीनदेखि सात वटासम्माको चित्र बनाउन सकिन्छ । तर केही ठाउँमा सोभन्दा पनि बढी बनाएको पाइन्छ । धेरै मेहनत लाग्ने हुनाले धेरै संख्यामा चित्र बनाउन नसकेको हो । संख्यामा छेकबार छैन । तर यो विजोर संख्यामा हुनुपर्ने कुरामा भने सबैको एकरुपता देखिन्छ । सबैभन्दा माथिल्लो कोठा पुरुषहरूको चित्र बनाइन्छ । बनाइएका चित्रमा मादल भिरेका, बाँसुरी बनाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको पाइन्छ । यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ । त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको पनि चित्र बनाइएको हुन्छ । थारू प्रकृति पुजक हुन भन्ने कुरा बायाँपट्टि चन्द्रमा र दायाँपट्टि सूर्यको चित्रले प्रमाणित गर्छ ।

त्यसैगरि त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ । उनीहरूको दुबै छेउमा जोक्करको पनि चित्र बनाइएको हुन्छ । नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकोले ती चित्र बनाइएको हुनु पर्छ ।

सबैभन्दा तल्लो कोठा माथिको दुबै कोठाभन्दा ठूलो हुन्छ । यसमा विभिन्न प्रकृतिसंग सम्बन्धि आकृतिहरू बनाइएको हुन्छ । जुन यहाँ बूँदागत रुपमा प्रस्तुत गरिएको छ ।

रोइना : तल्लो कोठाको पश्चिमपट्टि रोइनाको चित्र बनाइएको हुन्छ जसको बाह्र वटा टाउका हुन्छन् । त्यसैल यसलाइृ बरमुर्वा पनि भनिन्छ । कसैकसैले यसलाई रौना (रावण) को प्रतीक पनि भन्ने गरेका छन् । तर रावणको जीवन र आचरणसँगको दुबै घटना परिघटना अस्टिम्कीको न गीतमा पाइन्छ, न कुनै लोकोक्ति, कथा, किम्बदन्तिमा पाइन्छ । त्यसकारण रोइना रावण नभएर थारु समुदायको आफ्नै मौलिक पात्र हो कुराको पुष्टि हुन्छ । उनको चित्र बनाएपनि उनलाई पूजा गर्ने चलन भने छैन । उनको चित्रमा टीका लगाएमा लगाउनेको बच्चा बच्ची रुने जस्ता चरित्रका जन्मिने जनविश्वास छ ।

डोली : मानव मात्रै होइन पशुपन्छिहरूमा एक अर्का आत्मीय सम्बन्ध रहन्छ । तर मानिस बौद्धिक प्राणी भएकोले समयक्रम संगै सम्बन्धलाई औपचारिक रुप दिन थाल्यो । जसलाई विवाह भनेर भनियो । विवाह सृष्टिको औपचारिक रुपमा पनि लिइन्छ । विवाहको पहिलो दिन डोली चढेर आफ्नो श्रीमान्को घर जानु पर्ने भएकोले डोली अनिवार्य हुन्छ ।

कजरिक बनवा : घना जंगललाई कजरिक वनवाँ भन्ने बुझाउँछ । जंगलमा काठ, बन्यजन्तु, पशुपन्छी रहने बासस्थानको रुपमा लिइन्छ ।
कमलको फूल : फूल सुन्दरताको प्रतीकको रुपमा लिइन्छ । यसको पात खान खानाका लागि पनि प्रयोग गरिन्छ । अस्टिम्कीको लोककथामा जंगल गएका सात भाइ छोराहरूले थालको अभावमा यसैको पातमा खान खाने गर्दथे ।

मयूर : मयूर नौरंगी सुन्दर चरा हो ।
लाउ (डुङ्गा) : अष्टिम्कीमा डुङ्गा यातायातको साधनको प्रतिकात्मक चित्रण गरिएको छ ।

रैनी मछरिया : रैनी माछा एक अद्भूत माछा हो जुन जल–थल दुबै ठाउँमा बस्न सक्छ । सृष्टिकर्ताले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल (पानी) र थल (जमिन) बनायो र पृथ्वीमा मतस्य अवतारको रुपमा रैनी माछाको जन्म भयो । र अष्टिम्कीमा पनि यसको चित्र बनाउने गरिएको छ ।

हलो जोत्दै गरेको मान्छे : विभिन्न समयसंगै मानव जीवनयापनका लागि खेतीपाती गर्नु पर्ने भएकोले मानव जीवनशैली र कृषि प्रणालीको बिम्ब ।
भाले : समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निर्धारण गर्छन् । अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नु पर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ ।
सख्ली कुकनिया : सुरक्षाको लागि सख्ली कुकनियाँको ठूलो भूमिका छ । कुकुर एक बफादार पहरेदार जनावर हो । त्यसकारण पहरेदार सुरक्षाको लागि सख्ली कुकनियाँ अँगनामा रहेको ठूलो रुखमूनि बाँधिएका हुन्छ ।

त्यसैगरि हात्ती, घोडा, बाँदर, चराचुरुङ्गी, माछा, कछुवा, गोही, बिच्छी, सर्प लगायतका जनावरहरू प्राकृतिक सम्पदाको रुपमा रहेकोले अस्टिम्कीमा सबै चराचुरुङ्गी, पशु लगायतको चित्रले स्थान पाउँछ ।

अष्टिम्की दुई किसिमको हुन्छ । बर्का र छुट्की दुबैमा चित्र उही नै हुन्छन् । तर आकारमा भने साना–ठूला हुन्छन् । दिनभरि भोकै ब्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बच्चाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन् । जो भोकै ब्रत बस्नु पर्दैन । उनीहरू केही कुरा खाएर पनि बस्न सक्छन् ।

सामा –जामा : जब साँझा भएपछि अष्टिम्की बनाएको घरका मुली महिला (अगुनियाँ, महटिनियाँ) अष्टिम्की बनाएको बहरीलाई राम्ररी गाईाको गोबरले लिपपोत गरेर सतरंगी गुद्री, पटकी, ढाँचिया गुद्री बिछ्याउनु, जहाँ पूजा गर्न ल्याएका चमाल राख्छन् । त्यस्तै आवश्यकता अनुसारका सामानहरू जुराउँछन् । सल्लाको धूप, नौनी मिलाएर, सिंदुर, लोटामा पानी र दुई घोघा सहितको तरा सहतिको मकै अष्टिम्की बनाएको पश्चिमपट्टी राखिएको हुन्छ ।

डट्कट्टन : अष्टिम्कीको पहिलो दिन या ब्रत बस्नुभन्दा पहिलो भटौर खैना (दर खाने) लागि दिनभरि माछा मार्ने चलन छ । माछा अरु दिन पनि मारिन्छ । तर, त्यस दिनको माछा मार्ने कामलाई बिशेष मानिन्छ । दिनभरि लगाएर मारेर ल्याएको माछा धेरै भए साँझाको खानासंग खाइन्छ भने केही राती भटौरसंग खानाका लागि बचाइन्छ । यदी कारणबस त्यस दिन माछा मार्ने सकिएन भने भटौर नै खल्लो मानिन्छ । भटौर साँझाको खानापछि आफ्नो काम सकेर सुतेको केही बेरपछि अथवा भाले बास्नुभन्दा पहिले खाइन्छ । यो खाना अरु दिनको भन्दा बिशेष हुन्छ । माछा संगै अन्य मीठा–मीठा परिकारहरू पनि बनाइएको हुन्छ । जुन बेसमयमा खाँदा मीठो मानेर खान सकियोस् भनेर त्यस किसिमका परिकारहरू तयारी गरिएको हो । यो खाने काम भाले बास्नुभन्दा पहिले हुन्छ । यदि कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र ब्रत बस्न पाउँदैन ।

पूजा : साँझ परेपछि ब्रत बस्नेहरू नयाँ–नयाँ कपडा लगाएर अष्टिम्की बनाएको घरमा जान्छन् । साथमा थालमा एक माना चामल, हरियो काँक्रा, काँक्रा नभए, ज्यामुर, भोगते, स्याउ लगायतका फलफुल लिएका गएका हुन्छन् । थालको चामलमाथि माटो दीयो पनि बालेर लगेका हहुन्छने । त्यहाँ गाउँभरिका या टोलभरिका महिलाहरू जम्मा हुन्छन् । ब्रतालु मात्रै नभएर त्यहाँ हेरालुहरूको पनि उस्तै भीड लागेको हुन्छ । जब सबै जना जम्मा भइसकेपछि त्यस घरको अगुनियाँ पूजा शुरु गर्छ । अष्टिम्कीको सबैभन्दा माथि अथवा टाउकोमा गुर्बाबाको चित्र बनाएको हुन्छ । टीको लगाउने काम गुर्बाबाको चित्रबाट शुरु हुन्छ र क्रमशः सबै चित्रमा लगाइन्छ । तर, सबैभन्दा तल्लो कोठामा बनाएको रोइनाको चित्रमा भने कसैले पनि लगाउँदैनन् । उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने जनधारणा छ । तर, उमेर पुगेका र बच्चाबच्ची भइसकेकाहरूले भने हस्यौली पारामा टीका लगाइदिन्छन् । यसरी टीका लगाइसकेपछि अगियारी दिने चलन छ । आगोमा सल्लाको घूप, नौनी मिसाएर आगो हबन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ । आगोमा सल्लाधूप र नौनी चढाइसकेपछि पानी विजोर पटक घेरो हाल्ने चलन छ । घेरो हाल्ने कामलाई पर्छन भनिन्छ ।
टीका लगाउनु भन्दा पहिले आफूले ल्याएका चामल त्यही विछयाइएको गुद्रीमा राखेका हुन्छन् । चामलको छेउछाउमा काँक्रा र बीचमा दीयो हुन्छ । कसैको पूजा नकिदै दीयो निभ्यो भने लुकेर केही खाएको अथवा पानी खाएको अनुमान लगाइन्छ । गाउँका केटाहरू काँक्रा काटन आएका हुन्छन् । पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पात सहित यथास्थानमा राख्छन् । काटिएका काँक्रा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन् । कसैले पश्चिमपट्टिको कुनामा दुई थान जरा सहितको मकै पनि हुन्छ । त्यही मकै टिप्छन् ।

फलाहार भोजन : अष्टिम्की बिशेष गरेर फलाहार पर्व भएको यसमा फलफुल मात्रै खाने गरिन्छ । जब पूजा सकेर ब्रतालुहरू घर फर्किन्छन् । घरमा खानका लागि विभिन्नथरिका फलफुलहरू पनि तयार गरिएको हुन्छ । तर खानुभन्दा यहाँ पनि पूजा गर्नु पर्छ । खाने ठाउँमा गाइको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अगियारी दिइन्छ । अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै बस्तुबाट मिसाएर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ । यत्ति काम सकिसकेपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ र भोलिपल्ट आफ्नो चेलीबेटी दिन जान्छन् । साँझको खानमा केरा, अम्बा, स्याउ, नासपति लगायतका हुन्छन् ।

अष्टिम्कीक गीत : सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घर जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत आउने गर्छन् । गीत ठाउँ अनुसार कतै महिलाहरूले गाउँछन् भने कतै पुरुषहरूले मात्रै गाउने चलन छ । देउखुरीक्षेत्र लगायत केही ठाउँमा पुरुषहरूले मात्रै गाउने गर्छन् भने अन्य ठाउँमा महिलाअरुले गाउने छन् । ब्रत नबसेकाहरूले जाँड दारु खाएर र बसेकाहरू भने फलफुल खाएर रातभर गीत गाउँदै जाग्रम बस्छन् । गीतको केही अंश :
पहिलेटे सिरिजल जल–ठल ढरटि ।
सिरिजिटे गैलाँ हो कुस कई डाभ ।।
डुसरे टे सिरिजल अन्न कइ पेरें ।
सिरि टे गैलाँ हो अन्न कइ बिरोग ।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे ।
सिरि टे गैलाँ अन्न कइ पाट ।।
चौटे टे सिरिलज अन्न कइ फुला ।
सिरि टे गैलाँ अन्न कइ फल ।।
अस्राई जैना :
बिहान भाले बानसेपछि घरको अगुनियाँ अष्टिम्कीको डोलीमा बनाइल अपूर्ण कान्हालाई पूर्णता दिनका लागि अरुकै बारीको कंैठा (चिचिण्डो) चोरेर ल्याउनु पर्छ । चोरेर ल्याएको कैंठाको पूजा गरेर पूर्ण गरिन्छ । यसरी पूर्ण भएपछि कान्हाको जन्म भएको मानिन्छ ।

यता भाले बासेपछि ब्रतालुहरूको खाने पिउने कार्य बन्द हुन्छ । उनीहरूले अष्टिम्की विसर्जनका लागि टपरी खुत्ना थाल्छन् । टपरी साधारण टपरीभन्दा बिशेष प्रकारको हुन्छ । टपरीम पातकै पाँच या सात वटा दीया जोडिएको हुन्छ । बिहान भएपछि जम्मा भइसकेपछि आफ्नो चामल माथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दीयो पनि बाल्छन् । जब अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरु पनि संगै लाग्छन्े घाट, नदी, कुलो तिर । त्यही विसर्जन गरेर निहाई घर फकिन्छन् ।

फरहार : विसर्जन पछि आफ्नो तिर लाग्छन् । घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको ठुसा, सुकेको माछा, भात तयार गर्छन् । जब तयार हुन्छ, तब ‘फरहार’ गर्नका लागि तयार हुन्छन् । फरहार गर्नेबेला पनि साँझा गरे जस्तै अगियारी दिई आफ्नो चेलीबेटीको लागि अग्रासन निकाल्ने चलन छ ।

अग्रासन : चेलीबेटीहरूको नाममा निकालिएको खाने कुरालाइृ अग्रासन भनिन्छ । सबै काम सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जान्छन् । यो धेरै दिनपछि दिदी बहिनीहरूसंगको भेटले सद्भाव आत्मीय बढाउँछ । चेलीहरू आफ्नो दाजू–लाई सम्मान गर्छन् । थारू समुदायमा दारु जाँड, मासु खुवाएर सम्मान गर्छन् । भेटघाटबाट मनमा लागेको पीर–व्याथा सुन्न सुनाउने अवसरको रुपमा पनि लिइन्छ ।

अन्त्यमा : यसरी विधिवत रुपमा अष्टिम्की सकिन्छ । हिजोभन्दा आज अष्टिम्की धेरै फेरबदल भइसकेको छ । प्रकृति पूजक थारु समुदायको यो मौलिक पर्व भएपनि कालान्तरमा आएर यो यसको बाह्य प्रभाव पनि परिरहेको छ । पहिल्लो समय यस पर्वलाई कृष्णको गाथासँग जोडेर बर्णन गर्न थालिएको छ । र जबरजस्त हिन्दूकरण गर्न थालिएको पनि पाइन्छ । आम मानिसहरूको बुझाइमा अस्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ । तर यसको गहिराइ र वास्तविक त्यसो नभएर अस्टिम्की प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइन्छ । जुन गति थारु समुदायको सबैभन्दा पुरानो मानिने ‘गुर्बाबक जल्मौटि’ गीतको हुबहु कथाबस्तुमा आधारित लयान्तर गरिएको गति हो ।

यो चाड अरु चाडपर्व जस्तै यो पर्व पनि विकृत बन्दै गएको छ । धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महंगी रक्सी, रंगहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकारको प्रयोग जुन अत्याधिक रुपमा प्रयोग गरिएको हुन्छ । आजको अवस्था रुढ संस्कारलाई परिमार्जन गरेर प्रगतिशील संस्कार निर्माण गर्नु स्वभाविक हो । तर, संस्कार परिमार्जनको नाउँमा त्यसलाई अझ खर्चिलो, महंगा, भडकावपूर्ण, समाजमा नकारात्मक प्रभाव पार्छ ।

ताजा अपडेट

141 Shares
Tweet
Share141
Share
Pin