२४ कार्तिक २०८१, शनिबार November 9, 2024

भदौ १२ गते अँट्वारी पर्व, सार्वजनिक विदाका लागि ज्ञापनपत्र

८ भाद्र २०७९, बुधबार
भदौ १२ गते अँट्वारी पर्व, सार्वजनिक विदाका लागि ज्ञापनपत्र

कैलाली । थारू समुदायको अँट्वारी पर्वमा सार्वजनिक विदाका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावललाई ज्ञापनपत्र बुझाइएको छ ।
थारु कल्याणकारिणी सभा कैलालीले यहि १२ गते परेको अँट्वारी पर्वमा सार्वजनिक विदाका लागि ज्ञापनपत्र बुझाइएको हो । थाकस कैलालीका कावा सभापति माधव थारुको नेतृत्वमा गएको टोलीले अँट्वारी पर्वमा सार्वजनिक विदा दिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाइएको हो ।
सुदूरपश्चि प्रदेश सरकारले अँट्वारी पर्वमा प्रत्येक वर्ष सार्वजनिक विदा दिँदै आएको छ । यस वर्ष प्रदेश सरकारले भदौ १९ गते अँट्वारी पर्वको विदा दिने निर्णयबारे राजपत्रमा उल्लेख गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २२ गतेको निर्णय अनुसार भदौ १९ गते अँट्वारी पर्वको विदा दिने निर्णय गरेको हो ।


यता थाकस कैलालीले प्रदेश सरकारको निर्णयप्रति ध्यानाकार्षण जनाएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन अँट्वारी पर्व मनाइन्छ । यस वर्ष भदौ १२ गते उक्त दिन परेकोले थाकस कैलालीले भदौ १२ गते नै सार्वजनिक विदा माग गरेको हो ।
यसै बिच थाकस कैलालीको नेतृत्वमा जिल्ला भरि पालिका स्तरीय सामुहिक तथा संस्थागत रुपमा अँट्वारी पर्व मनाउने कार्यावाहक सभापति थारुले जानकारी दिए ।
थाकस जिल्ला कार्यसमिति दाङले पनि यहि भदौ १२ गते अँट्वारी पर्व मनाउने र नेपाल सरकारको तहगत (संघ, प्रदेश, स्थानीय) तह निकायबाट पाउने अट्वारी पर्वको सार्वजनिक विदा उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ ।
अँट्वारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारु समुदायका महिला पनि अँट्वारी व्रत बस्ने गर्दछन् ।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया र दाङ जिल्लाका थारु समुदायले अँट्वारी पर्व मनाउने गरेका छन् । थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो । अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ ।
साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अँट्वारी पुजा गर्ने गर्दछन् । अँट्वारी पुजामा अण्डीक रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ ।
फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ। अँट्वारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाई र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अँट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रुपमा मनाइने गरेको छ ।