६ बैशाख २०८१, बिहीबार April 18, 2024

कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

३० श्रावण २०७९, सोमबार
कर्णाली तटीय क्षेत्रका बासिन्दालाई सधैँ बाढीको त्रास

भजनी । कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ। उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै पर्दैन। रातिको समयमा चारदेखी पाँच पटक उनले कर्णाली नदीतिर नजर लगाउने गरेको बताइन्। गत वर्ष कात्तिकको बाढीले निकै त्रास फैलाएको र यसपटक पनि नदी झन नजिक आएको उनी बताउँछिन्।
’दिनभर काम गरेर थकित भइन्छ। बाढीको त्रासले निन्द्रा लाग्दैन,’ कुन्तीले भनिन्, ’सुतेको बेला पनि बाढी बस्तीमा पसे जस्तै लाग्छ।’ सोही ठाउँका इन्द्रबहादुर चौधरी केही वर्ष बाढीको त्रासबाट छुटकारा पाएको भए पनि वर्षायाममा कहिल्यै शान्तिको सास फेर्न नपाएको बतारउँछन्। उनले कर्णाली नदीका कारण आफूहरू सधैँ त्रासमा रहने बताए।

’अहिलेसम्म नदीमा पानी नबढेका कारण मनमा शान्ति नै छ। त्यो शान्त मन कतिबेला विक्षिप्त हुने हो थाहा छैन,’ इन्द्रबहादुरले भने, ’तराईमा पानी नपर्दा पनि बाढी आउँछ।’ पहाडी भेगमा अत्यधिक वर्षा भएपछि बाढीको त्रास बढ्छ।

कृषि व्यवसायी धनसिंह साउँद करिब २५ देखि ३० बिघामा धान खेती गर्छन्। उनले गर्ने धान खेती त्यहीँ कर्णाली नदीको आसपासमै हो। गत वर्ष कार्तिकमा आएको बाढीका कारण अधिकांश धान सखाप भएको स्मरण गर्दै साउँदले कर्णाली नदीका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्नुपरेको बताए। समयमै बीउबिजन र मलखादको अभाव झेल्दै आएका साउँदले बाढीकै कारण किसानले निरास हुनुपर्ने अवस्था आएको बताए।

’एकातिर कृषियोग्य जमिन बर्सेनि नदीमा परिणत हुँदै गएको छ भने अर्कोतिर बर्सातको समयमा शान्तिको सास फेर्न पाइँदैन,’ साउँदले भने, ’नदी तटबन्धका लागि कैयौँ पटक प्रयास भए तर, परिणाममा शून्यको अवस्था छ। समस्याजस्ताको त्यस्तै छ।’ वडा नं ८ कै श्रीलङ्कामा खेतीयोग्य सयौँ बिघा जमिनमा बाढी पसेको छ। बर्सेनि नदीले जमिन कटान गर्दै आएको भएपनी त्यसलाई निरीह भएर हेर्नुको अर्को विकल्प किसानसँग छैन।

अहिले बाढीको जोखिम रहेको क्षेत्रमा स्थानीयले जैविक तटबन्धको काम सुरु गरेका छन्। स्थानीय बस्ती बचाउनका लागि एकजुट भएर नदी नियन्त्रणको प्रयासमा उनीहरू लागेका हुन्। नदीकै कारण सत्ती कर्णाली सामुदायिक वनको सयौँ बिघा बगरमा परिणत भइसकेको छ। बर्सेनि नदीले कटान गर्न थलेपछि जङ्गलको क्षेत्र खुम्चिएको छ। राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले सो क्षेत्रमा तटबन्धको लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको थियो। निर्माण कम्पनीले काम गर्न नसकेपछि अहिले आयोजनाले पुरानो ठेक्का तोडेको छ।

’नदीले एकातिर जंगल बर्सेनि नष्ट गर्दै गएको छ भने अर्कोतिर वस्ती जोखिममा पर्दै गएको छ,’ सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले भने, ’गौरवको आयोजनाको लापर्बाही र ठेकेदारको ढिलासुस्तीका कारण सयौँ बिघा जङ्गल बगर बनिसकेको छ।’

गत वर्ष कात्तिकमा टीकापुर नगरपालिका–५ साहिपुरमा कर्णाली नदीले बाध भत्काउँदा नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का अधिकांश स्थान डुबानमा पर्दा ठूलो धनमालको क्षति भएको थियो।

झलनाथ खनाल/रासस