९ जेष्ठ २०८१, बुधबार May 22, 2024

बेतबाँसले बदलिएको पूर्व कम्लहरी बिजन्तीको जीवन

१ श्रावण २०७९, आईतवार
बेतबाँसले बदलिएको पूर्व कम्लहरी बिजन्तीको जीवन

अनिता चौधरी
कैलाली ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ ‘एच’गाउँ कि पूर्व कम्लहरी बिजन्ती चौधरी शारीरिक रूपले अपांगता भएपनि अहिले उनीलाई भ्याइनभ्याइ छ । २०५७ सालमा कमैया मुक्त भएपछि बर्दिया पस्परियास्थित पठ्रहियाबाट २०५८ मा कैलाली आएकी उनले अहिले ‘एच’गाउँमा बेतबाँसका सामग्रीबाट फुर्सद छैन ।
गाउँमै एक संस्थाद्वारा लक्ष्मी महिला समूहबाट २०६९ सालमा बेतबाँसका सामग्री बनाउने २ महिने तालिम लिए पश्चात उनले आफ्नै लगानीमा उद्योग सञ्चालन गरेकी थिइन । शारीरिक रुपमा अपांता भएपनि आफूले चाहे जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्, उनी ।
प्रौढ शिक्षा मात्र पढेकी चौधरी सीपले आत्मनिर्भर बनेकी छन् । खोकाबाट सुरु गरेको व्यावसाय अहिले एउटा सटरमा काम गर्दा पनि मागअनुसारको सामग्री पु¥याउन समयको अभाव रहेको उनको भनाइ छ ।
‘पहिले पैसाका लागि श्रीमानको मुख ताक्नुपर्ने अवस्था थियो, सीपले आर्थिक रूपमा पनि बलियो बनाएको छ,’ उनले भनिन्, ‘बेतबाँसबाट अहिले म हेङ्गर, टेबुल, कुर्सी, सोफा, ¥याक, टोकरी, मुढा, फुलदानी लगायत घर सजावटका सामग्री बनाउँदै आएकी छु ।’
उनका श्रीमान त्यहिँ ठाउँमा केराको नयाँ बोट उत्पादनका लागि ‘टिस्युकल्चर’ व्यवसायीमा सक्रिय छन् ।
सिकेको सीपलाई आफूमा मात्र सीमित नराखी समाजका अन्य ५ जना महिलालाई पनि बेतबाँसका सामग्री उत्पादन गर्न सिकाईसकेकी उनी अहिले सफल उद्यमीका रूपमा परिचित भएकी छन् । १४ हजारको लगानीमा सुरु भएको उद्यमबाट अहिले उनी मासिक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाइ गर्दै आएको उनले बताइन् ।
‘मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएकी छु, तर पनि भनेजति पु¥याउन सकिदैन,’ उनले भनिन्, ‘महिनामा ५० देखि ८० सम्म सामग्री निर्माण गर्दै आएकी छु । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।’
सुदूरपश्चिम महोत्सवमा चौधरीलाई उद्यमीको रुपमा कैलाली उद्योग वाणिज्य संघले स्टल राख्न बोलाउने गरेको उनी बताँउँछिन् । उनले भनिन्, ‘महोत्सव लाग्नु भन्दा १ महिना अगाडिदेखि नै तयारी गरी स्टलको लागि महोत्सव पुग्छु ।’
विगतका वर्षमा जिवन चलाउनकै लागि अरुको घरमा कम्लहरीबसी र मजदुर गर्दाको दुःखका दिनहरु सम्झिदै उनले भनिन्, ‘विगतमा दिनभरि काम गरेर पनि राम्रो खान र लगाउन नपुग्ने अवस्था थियो, अहिले ती दुःखका दिन देख्नु परेको छैन ।’
कच्ची घरमा बस्दै आएको उनको परिवार अहिले बेतबाँसकै सामग्री निर्माण गरी कमाएको आम्दानीबाट गाँउमै घडेरी किनेर पक्की घर ठड्याएकी छन् । यस काममा उनलाई श्रीमानको पूर्ण साथ र सहयोग रहेको उनले बताइन् । उनले भनिन्, ‘घरको खर्चसँगै छोराछोरीको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर धानेकी छु ।’
कैलालीको सत्तिबाट बेतबाँस खरिद गरी ल्याउन पर्ने भएकोले सामग्री उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन गर्न भने समस्या रहेको उनले बताइन् । उनले एक पटकमा १० क्वीन्टल बेतबाँस ल्याउने गरेको बताइन् ।
उद्योग सञ्चालनको लागि सुरुमा समूहकोे अनुदानबाट ग्यास, बेतबाँस खरिदलगायत केही मात्रामा किला, पेन्ट खरिद गरेकी थिइन् । अहिले त्यो खर्च सबै आफैले व्यहोर्दै आएको उनले बताइन् ।
उनका अनुसार बेतबाँसबाट बनेका सामग्री ४ सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री हुन्छ । खर्च कटाएर एक सामग्रीबाट १ सय ५० देखि ३ सयसम्म नाफा हुने गरेको उनले बताइन् ।