कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले थारुवान डटकम र कैलारी अनलाइनमा आएको समाचारप्रति गम्भिर ध्यानाकर्षण जनाएको छ ।
असार ११ गते शनिबार थारुवान डटकम न्यूज पोर्टलमा “कुन कुन थारु नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन” शिर्षकमा र कैलारी अनलाईन न्यूज पोर्टलमा “..नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्दै” शिर्षकमा प्रकाशित भएको समाचार प्रति मोर्चाले एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण जनाएको हो ।
मोर्चाले विज्ञप्ती मार्फत समाचारमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको नाम समावेश गर्दै मोर्चाका पदाधिकारी तथा सदस्यहरुको नाम समेत समावेश गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको भन्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।
‘समाचारमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको नाम समावेश गर्दै मोर्चाका पदाधिकारी तथा सदस्यहरुको नाम समेत समावेश गरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्न लागेको भन्दै प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै, यस किसिमका भ्रमित, निराधार, कपोकल्पित, मनगढन्ते समाचार प्रति खण्डन गर्दै, घोर भर्तसना गर्न चाहन्छौं’, विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्तीमा अगाडी भनिएको छ,–‘थरुहट थारुवान राष्ट्रिय मोर्चा थरुहटको माग मुद्दा संग सहमत जनाउने सबैको साझा र राष्ट्रिय गौरवशाली संस्था रहेकोले संस्थामा हरेक सामाजिक अभियन्ता तथा राजनीतिक दलमा आस्थावान एवं विचार राख्ने नेता कार्यकर्ता, स्वतन्त्र, आमनागरिकहरु साझा मुद्दाका लागि अटाउन सक्ने लुज मोर्चा हो । यस मोर्चाको सबल आधार र साखलाई भन्जाएर कोही कसैले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न दाउपेच गर्ने, मोर्चाका पदाधिकारी तथा सदस्यहरुको नाम समावेश गरी फाईदा लिने, बदनाम गराउने, मोर्चालाई कमजोर बनाउने, दुरुपयोग गर्ने जस्ता अवाञ्छित कार्य हामीलाई कदापी पनि स्वीकार्य छैन । यसर्थ यस किसिमका भ्रामक समाचारहरु आमसंचारमा संप्रेषण नगर्न नगराउन हार्दिक अनुरोध गर्दै, राजनीतिक स्वार्थको लागि मोर्चाको ब्यानरलाई कोही कसैले पनि दुरुपयोग नगर्न नगराउन सचेत गराउन चाहन्छौं ।’
मोर्चाले विज्ञप्ती निकाल्दै गर्दा मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु भने नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले एक कार्यक्रमकाबीच उनलाई पार्टी प्रवेश गराएकी हुन् ।