९ चैत्र २०८१, आईतवार March 23, 2025

‘खेतमा पसिना बगाउने किसान अनुदान पाउँदैनौँ’

११ चैत्र २०७९, शनिबार
‘खेतमा पसिना बगाउने किसान अनुदान पाउँदैनौँ’

कैलाली । कैलालीमा यस वर्ष सरकारले एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार गर्दैछ । कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोग तथा किसानको आफ्नै पहलमा भजनी, टीकापुर, जोशीपुर लगायत क्षेत्रमा चैते धान खेती गर्न लागेको हो ।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूह गरी मुख्यमन्त्री नमूना कृषि गाउँ, ब्लक प्रर्दशन, धानबाली प्रवद्र्धन र चैते धान खेती विस्तार कार्यक्रम लागु भएको छ ।
बर्खाको समयमा डुबान हुने क्षेत्रमा चैते धान खेती राम्रो उत्पादन हुने हुँदा यहाँका किसाहरु चैते धान खेति तर्फ आकर्षित भएको बताउँछन् ।
भजनी नगरपालिका ७ का विनिता चौधरी १ बिघा जमिन अधिया लिएर चैते धान रोपेकी छिन् । उनी भन्छिन्–‘सरकारले बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको सुनेकाछौं, तर हामी खेतमा काम गर्ने किसानहरु कहिल्यै अनुदान पाउँदैनौं ।’


भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो । तर यो वर्ष भजनी नगरपालिकाले पनि चैते खेतीमा कुनै योजना नल्याएको उनी बताउँछिन् ।
यस क्षेत्र वर्षातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा लिएको यहाँका किसानहरु बताउँछन् ।
विनिताको ८ जना परिवारले चैते धान खेति नगरे खाना पुग्दैन । उनीहरुसंग आफ्नो जमिन १० कठ्ठा मात्रै जमिन छ । जसले गर्दा अधिया लिएर खेती गरिरहेको उनी बताउँछिन् । सरकारले किसानलाई मल त उपलब्ध गराउन सक्दैन, अनुदान कहाँबाट पाउँनु भन्दै उनले गुनासो गरिन् ।


सोही ठाउँकी माया चौधरीपनि विगत १० वर्षदेखि चैते धानखेती गर्दै आएको सुनाईन् । उनी भन्छिन्–‘सरकारले खेतमा पसिना बगाउँनेलाई अनुदान दिदैन, जो अनुदान पाउँछ उ खेतमा जाँदैन् ।’ उनी पनि १ बिघा अधिया लिएर खेती गरिरहेकी छिन् ।
खेतमा काम गर्ने किसानले सिँचाइ र रासायनिक मलको समेत समस्या भोग्दै आएको माया सुनाउछिन् । उनीहरुले बोरिङ मोटरका माध्यमबाट सिँचाइ गर्दै आएका छन् भने रासायनिक मल भारतीय सीमावर्ती बजारबाट जोहो गर्नुपर्ने बाध्यता रहेको छ ।
चैते धानको खेतीमा खर्च भने बढी हुने गरेको उनी बताउँछिन् । ‘सिँचाइको सहज सुविधा हुँदैन । बोरिङ मोटरबाट सिँचाइ गर्दा खर्च बढ्छ । समयमै फसल भित्र्याउन नसके बर्षातको समयमा धान खेतमै कुहिन्छ’, उनले भनिन् ।