३२ असार २०८१, सोमबार July 15, 2024

राना थारुको अन्तरदेशीय विवाहमा कमी

४ चैत्र २०७९, शनिबार
राना थारुको अन्तरदेशीय विवाहमा कमी

धनगढी । कुनै बेला नेपाल र भारतका राना थारु समुदायबीच विवाह व्यापक थियो । बेहुली भारतबाट ल्याउने र आफ्ना छोरीचेली उतै दिने गरिएको थियो । तर, पछिल्लो समय सो कार्य रोकिएको छ ।दुवै देशको पछिल्लो कानून, राना थारु समुदायको शैक्षिक विकास लगायतका कारणले दुई देशका राना थारुको अन्तरदेशीय विवाह घटेको हो । शिक्षा र कानुनले पनि नेपाल भारतका राना थारुबीच विवाह सम्बन्धमा फरक पारेको धनगढी उपमहानगरपालिका–१० जुगेडाका भलमन्सा भिख्खु रानाले बताए ।
‘अहिले दुवै देशको कानुन परिवर्तन भएको छ’, उनले अगाडि थपे,‘उताबाट भित्र्याएका महिलालाई यहाँ नागरिकता प्राप्त गर्न त्यति समस्या छैन । तर, हाम्रोतिरबाट गएकाहरुलाई भारतमा धेरै समस्या छ ।’ यहाँबाट विवाह गरेर भारत गएकाहरुलाई भारतीय नागरिक बन्न समस्या रहेकाले यहाँका युवतीहरु अचेल भारतमा विवाह गर्न नमान्ने गरेको रानाको भनाइ छ । ‘पहिले जे जस्तो भए पनि चेलीबेटी लेनदेन खुबै चल्यो’, उनले अगाडि थपे,‘अहिले फाटफुटबाहेक छैन ।’

७५ वर्षीय भलमन्सा भिख्खुले आफै पनि भारतको बलेरा गाउँबाट विवाह गरेका थिए । तर, उनको श्रीमतीको २०÷२५ वर्ष अगाडि नै निधन भइसकेको छ । त्यस्तै, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटका सालिकराम रानाको घरमा विहेको कुरा चल्यो । उनका बुबाले केटी खोजे, तर हुनेवाला दुल्हीबारे रानालाई बेलिविस्तार सुनाइएन ।

‘एकैचोटी मङ्गनीमा हुनेवाली दुल्ही देखेँ’, विगत सुनाउँदै ७० वर्षीय सालिकराम भन्छन्,‘बुबाले हेरेको दुल्ही नाई भन्न मिलेन । डोलामा जन्ती गएर उनलाई भित्र्याइयो ।’ उनले भारतको मसानखामकी सिट्ठादेवी रानासंग विवाह गरे । बुबाले भारतमा आफ्नो लागि दुल्ही खोजेपछि बुबाकै इच्छानुसार विवाह गरेको सालिकरामले बताए ।

‘पहिले उनीहरु भारतको र हामी नेपालको जस्तो केही लागेकै थिएन’, उनले अगाडि थपे,‘आवतजावत निर्वाध थियो । त्यसैले विवाह सम्बन्ध एक अर्को गाउँबीच भएजस्तो लाग्ने गर्दथ्यो ।’ त्यस्तै, घुईयाघाटकै रामकिसन रानाको भारतस्थित सरियापाराकी रामप्यारी रानासंग सानैमा मङ्गनी भयो । विवाह भने २०४१ सालमा भएको उनी सुनाउँछन् । ‘त्यति बेला यता वनजङ्गल पनि थियो । नदीनालामा माछा प्रशस्तै पाईन्थ्यो’, रामकिसनले अगाडि थपे,‘वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुल्ही बनेर आउन सजिलै तयार भइन ।’

तीन दशक अगाडिसम्म नेपालका राना थारु र भारतका राना थारु समुदायबीच विवाह सम्बन्ध ओल्लो, पल्लो छिमेकी गाउँका जस्तै थियो । भौगोलिक सीमाले फरक–फरक देशका भनेर छुट्टयाए पनि उनीहरु त्यसको कुनै पनि परवाह नगरेर वैवाहिक सम्बन्धलाई दरिलो बनाएका थिए । उताबाट दुल्ही ल्याउने र यताबाट छोरीचेली दिनेक्रम धुमधामसंग चलेको थियो । प्रत्येक राना गाउँका धेरै घरमा भारतीय चेली बुहारी बनेर आएका छन् । तर, अहिले दुई देशका राना थारु समुदायबीच वैवाहिक सम्बन्ध विगतको जस्तो छैन । घटेको छ ।

पछिल्लो दुई÷अढाई दशकयता पारिबाट दुल्ही ल्याउने र छोरी दिने कार्य ह्वात्तै घटेको सो समुदायका अगुवा बताउँछन् । अहिले आएर नेपाल र भारतका रानाबीच विवाह लगभग शून्य सरह भएको घुईयाघाटका भलमन्सा चन्दर रानाले बताए ।

‘पहिले त प्रायः सबै दुल्ही उतैबाट ल्याउने र छोरी पनि उतै दिने चलन थियो’, उनले भने,‘अहिले त्यस्तो छैन ।’ भलमन्सा रानाका अनुसार खाना पकाउनका लागि नेपालमा दाउरा नपाउने गरेका कारण भारतका युवतीहरु अचेल यता विवाह गर्न मान्दैनन् । त्यस्तै, भारतमा विवाह गरेपछि उखु धेरै काट्नु पर्ने डरले यताका युवती उता विवाह गर्न मान्दैनन् । भारतमा उखुखेती बढी हुने गर्दछ । साथै, त्यहाँ दुधुवा नेशनल पार्क रहेका कारण काठ, दाउरा सजिलै प्राप्त हुने गर्दछ । नेपालमा भने राना समुदायको बसोबास रहेको धेरै ठाउँमा जङ्गल छैन । कतिपय स्थान सहरीकरणमा परिणत भइसकेको छ ।

पहिले यहाँ दाउरा पाइए पनि अहिले सहर÷बजार बनेकाले खाना पकाउने दाउरा पाउन मुस्किल रहेको रामप्यारीको भनाइ छ । ‘ग्यास पनि महँगो भइसक्यो’, उनले अगाडि थपिन,‘हामी आउँदा दाउरा थियो, अहिले दाउरा नपाइने गरेकाले भारतका केटीहरु यहाँ विवाह गर्न मान्दैनन् ।’

स्थानीयका अनुसार भारतको वनकटी, सरियापारा, भुरा, सुँडा, छेदिया अग्लापट्टि, छेदिया पिछ्लापट्टि, पिपरौला, बजाही, ढकिया, बिरिया, नझोटा, मसानखाम, जेनङ्ग्रा, चन्दनचौकी, ढुस्किया लगायतका भारतीय गाउँसंग नेपालीको ‘रोटीबेटी’ सम्बन्ध छ । यी सबै भारतको सीमावर्ती गाउँ हुन । यी लगायत विभिन्न गाउँबाट कैलाली, कञ्चनपुरका राना थारुले विगतमा विवाह सम्बन्ध गाँस्दै आएका थिए ।

अहिले राना थारु समुदायमा साक्षरता प्रतिशत बढ्दै गएको छ । यो समुदायका शिक्षित युवा आधुनिक जमानानुसार चल्न थालेका छन् । पछिल्ला पुस्ता शिक्षित बन्दै अन्तरजातिय विवाहसमेत गर्न थालेकाले भारतबाट बेहुली ल्याउने वा छोरी भारतमा दिनेक्रम घटेको युवा रञ्जित रानाले बताए ।

‘अहिले हाम्रो समुदायका युवायुवतीहरु कुनै भेदभाव नमानीकन यतै अन्तरजातिय विवाह गर्न थालेका छन्’, उनले भने । विगतमा राना समुदायका महिला पुरुषले आफ्नै समुदायभित्रमात्रै विवाह सम्बन्ध गाँस्नु पर्ने परम्परा थियो । नेपाल राना थारु समाजका अनुसार कैलाली, कञ्चनपुरमा गरेर नेपालमा राना थारुको जनसङ्ख्या तीन लाखभन्दा बढी छ । यो समुदायका युवायुवतीले अहिले गाउँमै, अर्को गाउँ वा अर्को जिल्लामा विवाह गर्ने क्रम बढेको छ ।
पश्चिमटुडेबाट