२१ मंसिर २०७९, बुधबार December 7, 2022

उकालो लाग्दै थारू साहित्यको ग्राफ

१३ चैत्र २०७८, आईतवार
उकालो लाग्दै थारू साहित्यको ग्राफ

कृष्णराज सर्वहारी
नेपालगञ्जको बसाइँको घनिष्ट मित्र सुशील चौधरी इन्सेकको जागिरको सिलसिलामा २०६९ माघको पहिलो साता काठमाडौं उक्लिए । उहाँलाई स्वागत गर्ने क्रम सँगसँगै थारू कविता वाचन कार्यक्रम माघ ६ गते मेरै डेरा कीर्तिपुर, नयाँबजारमा राखियो । यसरी त्यसपछि थारू कविता वाचन कार्यक्रमले मासिक रूपमा निरन्तरता पायो । कोरोना कालमा स्थगित भए पनि पुनः सुरु भई करिब ८३ श्रृंखला कार्यक्रम भइसक्यो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको थारू आन्दोलनकारी र प्रहरी बीचको भीडन्तमा ८ प्रहरी र एक बालकको मृत्यु तथा अर्को दिन कफ्र्यूका बीच थारू समुदायका व्यक्तिहरुको घरमा छानी छानी आगजनीको घटनाले मित्र सुशील र मलाई नराम्ररी हल्लायो । टीकापुरमा भएको थारू आन्दोलनकारीको एउटै उद्धेश्य थियो, टीकापुर नगरपालिकाको कार्यालयमा थरुहट स्वायत्त प्रदेशको ब्यानर टाँग्नु र कोणसभा गर्नु । थरुहट प्रदेश बन्ला, नबन्ला, त्यो भविष्यको कुरा थियो । भाषा हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान । हामीलाई लाग्यो, थारू भाषा, संस्कृतिको संरक्षण नहुँदासम्म नाम मात्रको थरुहट प्रवेशको औचित्य रहन्न । बिहान बेलुकाको कैयौ कफी गफको निश्कर्षमा दसैंको छेको पारेर काठमाडौंबाट कञ्चनपुरसम्म जनमत बुझ्न थारू साहित्यिक गोरपासु (अभियान) लिएर जाने योजना बन्यो । र, हामी दुइ मित्र दौडियो गोरपासुमा ।

थारू साहित्य सम्मेलनको परिकल्पना

२०७२ दसैंको छेकोमा काठमाडौंबाट कञ्चनपुरसम्म थारू साहित्यिक गोरपासु (अभियान) ले दाङदेउखुरी, बाँके, बर्दियासम्म पाइला टेक्दै ५ स्थानको साहित्यिक कार्यक्रममा सहभागिता जनायो । कैलाली, कञ्चनपुरको यात्रा अपुरो रह्यो । तर यस अभियानको ठूलो उपलिब्धको रूपमा थारू साहित्यिक मेलाको परिकल्पनाले मलजल पायो । फाइन प्रिन्ट लगायतले ‘लिटरेचर फेस्टिभल’को परम्परा बसालिसकेका थिए । त्यस्तो सुरुवात थारू साहित्य केन्द्रीत किन नगर्ने भन्ने सवाल उठाउँदा सबैले गर्नैपर्ने सुझाए । सोही अनुरूप राजधानी फर्किएलगत्तै हामीले २०७२ सालबाटै प्रत्येक वर्ष थरुहट क्षेत्रको जिल्लामा थारू साहित्यिक मेला आयोजना गर्ने गृहकार्य थाल्यौं ।

२०७२ चैतको अन्तिम साता दाङको घोराहीमा पहिलो थारू साहित्यिक मेला तय गरियो । तर विविध कारणवश २०७३ वैशाख ३ र ४ मा कार्यक्रम सार्नु पर्यो । पहिलो थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे पनि कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै लावा डग्गर थारू साहित्यिक त्रैमासिकको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी ६ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । कार्यक्रममा थारू भाषाको पहिलो पत्रिका गोचाली (२०२८) का संस्थापक महेश चौधरी, भगवती चौधरी लगायतलाई सम्मान गरियो । यसै कार्यक्रममा थारू लेखकहरु संगठित हुनुपर्ने महसुस गरी यसै पंक्तिकारको संयोजकत्वमा थारू लेखक संघ पनि गठन गरियो । नेपाल प्रज्ञा प्रतिष्ठान अनि जिविस दाङले पहिलो कार्यक्रममा थोरैतिनो सघाए । नपुग थारु कर्मचारीले बेहोरी दिए । यसरी पहिलो कार्यक्रमले उत्साह भरिदियो ।

थारू साहित्यिक मेलाको दोश्रो भाग कैलालीको पटेला (धनगढीबाट ५ किमी पूर्व) मा २०७३ चैत १९ र २० गते गरियो । दोस्रो वर्षको कार्यक्रमबाट हामीले कार्यपत्र प्रस्तुतिको फर्मेट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दियौँ । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाएको हामीलाई महसुस भयो ।

थारू पृष्ठभूमिमा निकै कथा लेखिसकेका रामलाल जोशी दोस्रो थारू साहित्यको मेलाको प्रमुख आकर्षण भए । ‘ऐना’ कथा संग्रहमा थारू चेलीहरुको हुर्मत लिइएको बारे धेरै थारू स्रष्टाहरुले प्रश्नको बौछार गरेर उनलाई र्याखर्याख्ती पारे । जोशीले भनेका थिए,‘आख्यानमा अधिक यथार्थ, थोरै कल्पना हुन्छ । मेरो कल्पनाशीलताले थारू समुदायको चित्त दुःखेको छ भने माफी चाहन्छु । तर तपाईं थारू स्रष्टाहरु पनि हामी पहाडेहरुका बारेमा आख्यान लेख्न स्वतन्त्र हुनुहुन्छ । हामी सबैको लेखनीको उद्येश्य साहित्य लेखनमार्फत् समाज जोड्ने हुनुपर्छ ।’

१० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए । तर युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन भन्दा हुन्छ । समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ । त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा ? यसबारे जनयुद्धमा होमिएका नेताहरुलाई नै अन्तरसंवादमा उभ्याउने योजना सफल भएन । बक्ताहरु आइदिएनन् ।

लेखनमा भर्खर पाइला चालेको थारू भाषामा मानकताको प्रश्न ज्वलन्त छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउन १ देखि ३ सम्म घोराहीमा गोष्ठी गराइसकेको छ । सोही गोष्ठीका सहजकर्ता रहेका भाषाविद् पदम राई थारू भाषाको मानकताबारे गोष्ठी प्रस्तुतिको सार राखे, साहित्यिक मेलामा । यो ७ वर्षको अवधिमा थारू भाषाको लेखन शैलीबारे निकै सार्थक बहस अघि बढेको छ । अनि विद्यालय तहमा नेपाल (नेवार) भाषा लागु गर्नुपर्ने अभियानका अभियन्ता दीपक तुलाधरले भाषा जोगाउन थरुहट क्षेत्रको विद्यालयमा पनि थारू भाषाको अनिवार्यतामा जोड दिएर कार्यक्रमको माहोलमा उत्साह थपे । अहिले काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयमा नेवार भाषालाई अभियानकै रूपमा अगाडि बढाइसकेको अवस्था छ भने थरुहटको विद्यालयमा थारू भाषाको पढाइको अवस्था शुन्यप्रायः छ ।

पहिलो वर्षको साहित्यिक मेलामा करिब एक दर्जन स्रष्टाले वर्ष दिनभित्र पुस्तक प्रकाशन गर्ने वाचा गरेका थिए । त्यो वाचाले दोस्रो वर्षमै सार्थकता पायो, ६ जना स्रष्टाको पुस्तक विमोचन भयो । साहित्यिक मेलामा कविता वाचन र वाचित कविता उपर समिक्षाले पनि विशेष स्थान पायो । दोस्रो थारू साहित्यिक मेलाका लागि सरकारी, गैरसरकारी कुनै निकायबाट एक रूपैया पनि सहयोग नलिई स्थानीय शुभेच्छुकहरुको सहयोगबाट कार्यक्रम सफल भएको थियो, यो थप सन्तोषको विषय थियो ।

तेस्रो कार्यक्रम २०७४ माघको ४ देखि ६ सम्म् बर्दियाको बढैयाताल किनारमा निकै भब्यताका साथ सम्पन्न भयो । हरि तिमिल्सिना, किरण आचार्य लगायत गैरथारू साहित्यकारले थारू भाषामै थारू लोकसंस्कृति संरक्षणको बहसमा भाग लिए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव सनत रेग्मीले थारू समुदायकोसंख्या ठूलो रहे पनि साहित्य जुन गतिमा बग्नुपर्ने हो, त्यो नभएकोमा चिन्ता ब्यक्त गरे । तेस्रो कार्यक्रमबाट हामीले थारू साहित्यिक मेलालाई थारू राष्ट्रिय साहित्य सम्मेलन नामकरण गरेका थियौं ।

लेखनमा थारू महिला, थारू लोककथामा समालोचनात्मक दृष्टि, थारू रंगमञ्चका चुनौती, बर्दिया विकास बहस, रेडियोमा थारू भाषा, स्थानीय विकासमा बरघर लगायत विषयमा तेस्रो कार्यक्रममा गहन छलफल भयो ।

सम्मेलनको पूर्व सन्ध्यामा प्रतियोगिताका लागि थारू भाषामै नाटक पठाउन आह्वान गरिएको थियो, जसमा प्रणव आकाशको करोट शीर्षकको नाटक उत्कृष्ट भएको थियो । त्यस्तै तेस्रो कार्यक्रममा १२ जना स्रष्टाको १३ वटा पुस्तक विमोचन हुनु आफ्नै मातृभाषामा लेखन अभियानको एउटा कोशेढुंगा थियो । पहिलो कार्यक्रमको सबै कार्यपत्र नेपाल प्रज्ञा प्रतिष्ठानले ‘सयपत्री’मा नेपाली र थारू भाषामा तथा ‘लावा डग्गर’ पत्रिकाले थारू भाषामा प्रकाशित गरि दिए । थारू साहित्य सम्मेलनको पहिलोदेखि तेस्रो कार्यक्रम सम्मको दस्तावेजकीरणस्वरूप बिहान (२०७५, कार्तिक) बार्षिक पत्रिकाले विशेषाङ्क प्रकाशित गरेर गुन लगाएको छ ।

तेस्रो कार्यक्रममा रूपन्देहीबाट दुई दर्जन सहभागी आएका थिए, जसले आगामी वर्षको कार्यक्रम रूपन्देहीमा गर्ने वचनबद्धता गरे । यसरी चौथो थारू राष्ट्रिय साहित्य सम्मेलन २०७४ चैतको अन्तिम साता रूपन्देहीको सैनामैनामा सम्पन्न भयो । गैरसाहित्यकारको नजरमा थारू साहित्य सेसनमा डा मुकुन्द शर्माले थारूहरु जाँड रक्सी खाएर पछि परेको अभिव्यक्ति दिएपछि पत्रकार चन्द्रकिशोरले कडा प्रतिवाद गरे, ‘जुन समाजको आमन्त्रणमा तपाईं अतिथि भएर बोल्ने अवसर पाउनु भएको छ, त्यसको वदनाम गर्ने हक छैन तपाईंलाई । जाँड रक्सी खाएर बाहुन, क्षेत्री पनि बिग्रिएका छन्, त्यसमा खै कुरा उठेको ?’

थारू मानक भाषा बहसमा महेश चौधरी, डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले बहस गरेका थिए । २०२८ सालमा प्रकाशित थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’का प्रधानसम्पादक महेश चौधरीले आफूहरुले २०२८ सालमा प्रकाशन गरेको पत्रिकाको भाषा परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको जिकिर गरेका थिए । उनले समयअनुसार थारूभाषीले बोलाईमा नेपालीकरण गर्दै गएकाले लेखाइमा नेपाली ब्याकरणअनुसार थारू लेखनशैली बनाउनुपर्ने धारणा राखेका थिए । तर डा कृष्णप्रसाद पौड्याल, रामबहादुर चौधरीले थारू भाषा मात्रै होइन, जुनसुकै भाषा पनि बोलाई अनुसार लेख्नुपर्ने अभिब्यक्ति दिएका थिए । ती दुबैले डंगौरा थारू भाषामा त, थ, द, ध को उच्चारण नभएकाले आगन्तुक शब्द तथा नाउँ, गाउँबाहेक अरुमा प्रयोग नगरे पनि हुने धारणा राखेका थिए ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नयाँगाउँस्थित कर्णाली थारू होमस्टेमा पाँचौँ राष्ट्रिय थारू साहित्य सम्मेलन २०७८ चैत २१ र २२ गते गरियो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले थारू भाषा साहित्य समृद्ध रहेको र सुर्खेतमा थारू भाषा संरक्षण गर्न स्थानीय पाठ्यक्रममा थारू विषयबस्तु राखिने आश्वासन दिएका थिए । चौथो र पाँचौ कार्यक्रममा भाग सहभागी नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ लक्ष्मी मालीले थारू समुदायले यसखाले साहित्य सम्मेलन गरेर थारू साहित्यको संरक्षण र प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताएकी थिइन् ।

कार्यक्रममा आख्यानकारद्वय महेशविक्रम शाह र नयनराज पाण्डेसँग अर्का आख्यानकार शेखर दहितले आख्यानको ओज शीर्षकमा छलफल चलाएका थिए । सो क्रममा महेशले लामो समय आफ्नो बसाई कैलाली, टीकापुर छेउको थारू गाउँमा भएकाले कथामा थारू पात्र जीवन्त भएर आएको जनाए । नयनले आफ्नो आख्यानमा मधेशी पात्र बढी आउनुमा ती पात्रहरूसँगको संगत नै कारक रहेको बताएका थिए । टीकापुर घटनामा कतिपय निर्दोष थारू फँसेका तर तिनको बारे कुनै आख्यान नआएको प्रसंग उठ्दा महेशले त्यसबारे आख्यान लेख्ने बताएका थिए । त्यस्तै नयनले भनेका थिए, ‘थारू समुदायको लेखनको विषयबस्तु तपाईंहरू भित्रै छ, कस्तुरी तपाईंहरू भित्रै छ । यसको सुगन्ध थाहा पाउनोस् ।’

थारू गीतको बाटो कता शीर्षकमा सुशील चौधरी, राज कुश्मी र सानु चौधरीसंग अनिल कुश्मीले संवाद चलाएका थिए । सो अवसरमा थारू लोकलय हराउँदै गएकाले थारू गायकहरूले आधुनिक गीतसंगै लोकगीतको संरक्षणमा ध्यान दिनुपर्ने निचोड रहेको थियो ।

थारू भाषाको मानकीकरण विषयमा थारू व्याकरण लेखक भोलाराम चौधरी तथा डा कृष्णराज सर्वहारीले प्रस्तुति दिएका थिए । थारू वर्णको पहिचान भइसकेकाले थारू लवजबाट जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखनशैली अपनाउनुपर्ने दुवैको राय थियो । थारू लोकसाहित्यको दस्तावेजीकरण विषयमा थाकस दाङका सभापति भुवन चौधरी तथा थारू भाषाको पहिलो पत्रिका गोचालीका संस्थापक भगवती प्रसाद चौधरीले दस्तावेजीकरणको अभावमा तमाम लोकसाहित्य हराउँदै गएकोले यसको संरक्षण हुनुपर्ने आवाज उठाए ।

सुर्खेतमा पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलन भएपछि लगत्तै त्यहाँ साहित्यकार मानबहादुर पन्नाको संयोजकत्वमा लखागिन थारू साहित्य उत्थान मञ्च गठन भयो । जसले पाँचौ थारू राष्ट्रिय साहित्य सम्मेलनको गतिविधि समेत समेटेर लखागिन जर्नल प्रकाशन, सख्या गीतको दस्तावेजीकरणदेखि थारू पुस्तकालयको सुरुवात गरिसक्यो । यसलाई थारू साहित्य सम्मेलनको जीवन्त उपलब्धि मान्नुपर्छ ।

छैठौं थारू राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरको कृष्णपुर–६, सिंहपुर गाउँमा यही २०७८ फागुन १२ देखि १४ सम्म भएको छ । यस कार्यक्रममा सुदूरपश्चिम विशेष थारू साहित्यबारे बहस गरियो । त्यहाँको थारू गीत संगीत, थारू साहित्यिक पत्रकारिता, बरघर प्रणाली, थारू योद्धाहरुको खोजी, नारी सशक्तिकरणको अवस्था, विमोचित ४ वटा पुस्तकको चर्चा, कञ्चनपुरमा राजनीति गर्ने थारूहरुको अवस्था, सामाजिक सञ्जालमा थारू स्रष्टाहरु लगायतबारे सेसन भयो ।

कार्यक्रममा आकर्षणका केन्द्र साहित्यकारद्वय शिवानीसिंह थारू र रामलाल जोशी थिए । जसले आख्यान यात्रा विषयमा आ–आफ्ना अनुभव साटेका थिए । शिवानीले ‘काठमाडौंमा एक दिन’ आफ्नो उपन्यास पूर्वी मधेशको विषयमा रहेकोमा आउने उपन्यास नेपालगंज क्षेत्रलाई केन्द्रित गरी पश्चिम मधेशको विषयमा रहने जानकारी दिइन् । उनले आफू थारू जाति भए पनि थारू भाषा नआउने स्वीकार्दै थारू भाषा सिकेर मातृभाषामा पनि कलम चलाउन सम्मेलनले उत्प्रेरित गरेको बताइन् । उता जोशीले पश्चिम क्षेत्रको विषयमा धेरै आख्यान लेखिसकेकोले अब आाफ्नो ध्यान पूर्वी क्षेत्रको विषयमा रहने जानकारी दिएका थिए ।

पुरस्कार तथा सम्मान

थारू लेखक संघ नेपाल अहिले जिल्ला प्रशासन कार्यालय, कैलालीमा दर्ता गरिएको छ । यसका ४ दर्जन संस्थापक सदस्यसँगै आजीवन सदस्यता लिनेहरुको चासो बढेको छ । यसले थारू भाषा, साहित्यको श्रीबृद्धिमा योगदान गर्ने स्रष्टाहरुलाई हरेक वर्ष थारू साहित्य पुरस्कार दिने कामको सुरुवात २०७७ सालबाट गरेको छ । पहिलो वर्ष ठाँह्रा कथासंग्रहका लागि कथाकार शेखर दहितलाई ११ हजार १ सय ११ रूपैयाँले पुरस्कृत गरियो । यस वर्ष दाङदेउखुरीका गीतकार, गायक दोषहरण चौधरीलाई १५ हजार ५ सय ५५ रूपैयाँले पुरस्कृत गरियो । हाल ४७ जना संघको संस्थापक सदस्य भई जनही रु ५ हजार तथा आजीवन सदस्यबाट पनि रु ५ हजार तथा कार्यक्रमबाट जोगाएर ५ लाखको अक्षयकोष जम्मा गरिएको छ । यसलाई बढाउँदै लैजाने योजना छ, थारु साहित्यको मदन पुरस्कारझैं बनाउने महत्वाकांक्षा छ ।

थारू पुस्तक, पत्रिका प्रवद्र्धनको पाटो थारू साहित्यिक सम्मेलनको सबैभन्दा ठूलो इभेन्ट हो । स्टेशनरी पसलमा कहिल्यै नझुन्डिने थारू पुस्तक, पत्रिका सम्मेलनको स्टलमा झुन्डिन्छ । थारू साहित्यको कुम्भ मेलामा गैरथारू साहित्यकारहरुको पनि सार्थक उपस्थिति हुन थालेको छ । यसरी थारू साहित्यको ग्राफ उकालो लाग्दै गर्दा आफूले अभियानमा खर्च गरिरहेको समयको असुल उपर भैरहेको महसुस भएको छ ।

रातोपाटीबाट