अविनाश चौधरी
धनगढी, १८ माघ । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन । बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे नै गाउँबाट निस्किछन्, उनी ।
हिउँदमा चिसोसँग लड्दै नौ किलोमिटर पैदल यात्रा गरेर धनगढी बजार पुग्दासम्म खाना पकाउने बेला भइसकेको हुन्छ । त्यही मौका छोपेर ‘तरकारी लेबो, तरकारी लेबो ? (तरकारी लिने)’ भन्दै टोल टोल पुग्छिन्, अनिता । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्,“तर, गुजारा गर्न यत्ति त गर्नै प¥यो ।”
धनगढी उपमहानगरपालिका–८ की ५७ वर्षीया गुलाबादेवी राना पनि चिसोको परवाह नगरी बिहानै निस्किछन्, एक भारी तरकारी बोकेर । उमेर ढल्कनै लागे पनि तरकारी बेच्न जोस गएको छैन । भन्छिन्,“यसरी दैनिक हिँडेर तरकारी बेचेको कैयौँ वर्ष भइसक्यो । अझै सकुञ्जेल बेच्छुँ ।”
अनिता र गुलाबादेवी प्रतिनिधि पात्र भए पनि उनीहरू जस्तै धनगढी बजार आसपासका सयौँ महिला हिँड्दै तरकारी बिक्री गर्ने कार्यमा संलग्न छन् । जुनसुकै सिजनमा आफ्नो बारीमा तरकारी खेती गर्ने र उत्पादित तरकारी बेच्ने उनीहरूको दिनचर्या हो । यसरी तरकारी बिक्री गर्नमा अब्बल देखिएका थारु महिलाको कमाइ दैनिक दुई सयदेखि दुई हजार रुपियाँसम्म रहेको छ ।
“कहिलेकाहीँ दैनिक ज्याला पनि निस्किँदैन । तर, बजार मूल्य बढी भएको बेला कुनै दिन दुई हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ”, पथरीकी रामकुमारी चौधरीले भनिन् । उनका अनुसार पथरी गाउँबाटमात्रै दैनिक ३०÷४० जना महिला आफ्नो बारीको तरकारी बिक्री गर्न धनगढी बजार आउने गरेका छन् । तरकारी बिक्री गरेर नै गाउँको गुजारा भइरहेको रामकुमारीको भनाइ छ ।
धनगढी बजार आसपासमा जाई, जाली, पटेला, धनगढी गाउँ, घुइयाघाट, बङ्गरा, जुगेडा, मटियारी, पथरी, धुरझन्ना, बेली, कनरी लगायतका गाउँ रहेका छन् । यी गाउँहरूमा बसोबास गर्ने थारु र रानाथारु समुदायका मानिसको आयआर्जनको स्रोत कृषि कार्य नै हो । कृषि पेसामा संलग्न परिवारका प्रायः थारु महिला तरकारी बेचेर परिवार धानिरहेका छन् ।
आफ्नो बारीमा भएको तरकारी अलिअलि बेचेर आएको पैसाले गुजारा गर्न सहज हुने गरेको धनगढी गाउँका रामदुलारी रानाले बताइन् । “तरकारी बिक्री गरेर मैले महिनामा १५ हजार रुपियाँसम्म कमाउने गरेकी छु”, उनले भनिन्,“मेरो कमाइले घर खर्च धान्न सजिलो भएको छ ।”
धनगढी बजारमा भारतबाट आयात गरिएको तरकारी सस्तोमा पाइन्छ । त्यसले स्थानीय किसानलाई समस्या गरे पनि गाउँघरको ताजा तरकारी मन पराउने कतिपय मान्छेहरू आफूहरूलाई कुरेर बस्ने गरेको पथरीकी एलिसा चौधरीले बताइन् । “हामीहरू ताजा तरकारी ल्याउँछौँ, त्यसकारण जान्ने बुझ्ने मान्छेले हामीले ल्याएको तरकारी मन पराउँछन्”, उनले भनिन्,“जेहोस, यो काम गरेर, निराश हुनु परेको छैन । अलि अलि कमाइ भइहाल्छ ।”
गोरखापत्रबाट