३० बैशाख २०८२, मंगलवार May 13, 2025

माघीमा हुने लाटोकोसेरो उत्सवको तयारी अन्तिम चरणमा

१८ माघ २०७९, बुधबार
माघीमा हुने लाटोकोसेरो उत्सवको तयारी अन्तिम चरणमा

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४, माघी होमस्टेमा हुन गइरहेको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही माघ २० गतेदेखि दुई दिनसम्म आयोजना हुने उत्सवको तयारी ८० प्रतिशत पूरा भएको आयोजकले जनाएका छन् । उत्सववका लागि प्रदर्शनी स्थल व्यवस्थापन, गेट निर्माण लगायतका कार्य पूरा भएका छन् ।
चरा संरक्षण नेटवर्क कैलालीको व्यवस्थापन र विभिन्न संस्थाहरुको सहयोगमा संरक्षणमा क्रियाशील संस्था प्रकतिका साथीहरुले १० औं उत्सव आयोजना गर्न लागेको हो । उत्सवमा सहभागिताका लागि पाहुना आउनेक्रम सुरु भएको छ ।
किसानका साथी मानिएको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले आयोजना हुन गइरहेको उत्सवमा संरक्षण सम्बन्धी प्रवचन, लाटोकोसेरोकोबारेमा जानकारीमूलक प्रदर्शनी, साँस्कृतिक प्रस्तुति, घोडाघोडी चरा आरक्षमा चरा अवलोकन लगायतका कार्यक्रम हुने जनाइएको छ ।
त्यस्तै, मुङ्ग्रहुवा, सखिया, झुम्रा, हुरडुङ्ग्वा, देउडा, कौडा नृत्यका साथै, किचकिच, छुर, टिटी, कोइली दिदी, भुरुङ, सारंगी हाटा जस्ता लोपोन्मुख खेल आयोजना हुनेछ ।
उत्सवको दोस्रो दिन संरक्षणमा योगदान पु¥याउने चार जनालाई ‘राष्ट्रिय प्रकृति संरक्षण’ पुरस्कार प्रदान गर्ने जनाइएको छ । यसवर्ष पुरस्कारका लागि जाजरकोटको संरक्षणकर्मी गोविन्दबहादुर सिंह, काठमाण्डौं–४ गोकर्णेश्वरका अनुसन्धानकर्मी हेमबहादुर कट्वाल, कान्तिपुर दैनिकमा कार्यरत चितवनका पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे छनोटमा परेका छन् ।
चारै जनालाई जनही २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाले सम्मान गरिने आयोजक प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।
यसअघि, चितवन, नवलपरासी, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजामा उत्सव आयोजना गरिएको थियो ।
नेपालको सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षण सम्बन्धी संदेश दिन यसवर्ष कैलालीमा उत्सव गर्न लागिएको हो ।
लाटोकोसेरोले मुसा खाएर किसानलाई सहयोग गर्दछन् । गोठे लाटोकोसेरोको एक परिवारले बच्चा हुर्काउने बेला एक सिजनमा तीन हजारसम्म मुसा खाने गर्दछन् । त्यसैले यो चरालाई किसानको साथी भन्ने गरिएको आचार्यले बताए । अन्धविश्वासको कारण लाटोकोसेरो तस्करी धेरै हुने गरेको उनको भनाइ छ । ‘तर, पछिल्लो समय धेरै हद्सम्म तस्करी नियन्त्रणमा आएको छ’, आचार्यले भने ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाइन्छन् । जसमध्ये नौ प्रजाति दुर्लभ मानिएका छन् भने दुई प्रजाति नेपालबाट लोप भएको बताइएको छ ।