२० मंसिर २०८१, बिहीबार December 5, 2024

कुलासिंह बमले तयार गरे बहुभाषिक शब्दकोष

१८ माघ २०७९, बुधबार
कुलासिंह बमले तयार गरे बहुभाषिक शब्दकोष

टीकापुर, १८ माघ । कैलालीका पूर्व शिक्षक कुलासिंह बमले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाहरुको बहुभाषिक शब्दकोष तयार गरेका छन् । चार हजार शब्द सम्मिलित शब्दकोषमा सुदूरपश्चिममा बोलिने पहाडी जिल्लाका सात भाषा, अङ्ग्रेजी, नेवारी, मगर, राजी, डंगौरा थारु, दङहा, पूर्वी कठरिया, मलवारी कठरिया र राना थारु गरी १७ भाषा रहेका छन् ।
भाषाबारे जानकार शिक्षकलाई नेपाली भाषाका चल्तिका शब्द पठाइएको र शिक्षकहरुले अनुवाद गरी पठाएपछि शब्दकोष तयार भएको बमले बताए । अनुवादमा विभिन्न भाषाका २४ जना शिक्षकको सहयोग लिइएको छ ।
भाषा आयोगका तत्कालिन अध्यक्ष लवदेव अवस्थी आयोगको सहमति लिएर व्यक्तिगत मिहिनेतले तयार भएको शब्दकोषमा लौकिक हिसाबले बोलिने शब्दका साथै सुदूरपश्चिममा देवताका धामीले प्रयोग गर्ने वाणी पनि सङकलन गरेकाले यसबाट इतिहासको पनि संरक्षण हुने बताए ।
‘व्याकरणको वैज्ञानिक आधार निर्माण गरेर शब्दकोष बनाउन सके तुलनात्मक अध्ययनका लागि महत्वपूर्ण हुनेछ अवस्थीले भने, ‘यस्ता कृतिहरुको विद्युतीय सङ्ग्रह बनाएर राख्ने काम आयोगले गर्नेछ । तर यस कामलाई प्रोत्साहन र आर्थिक सहयोग गर्ने काम प्रदेश र स्थानीय तहबाट हुनुपर्छ ।’
२०७५ देखि कैलालीको दुर्गौलीमा दीर्घमोति स्मृति प्रतिष्ठान खोली भाषा अनुसन्धान केन्द्रको कार्यालय राखेर काम गरिरहेका छन् । भाषा आयोगको अनुमति लिएर शब्द सङ्कलन र अनुवाद गर्न लाग्नुभएका बमलाई आयोगले सम्मानपत्र पनि दिएको छ । तर काम गरेवापतको पारिश्रमिक कार्यालय भाडा र अन्य खर्चहरु धेरै हुँदा समस्या भएको छ ।
‘रुचिको विषय भएकाले काममा लागे दुई चरणमा काम पनि भैसक्यो, तर काम वापतको खर्च तिर्न नसक्दा चिन्तित छु,’ बलमे भने, ‘अब यसको दायित्व र स्वामित्व सरकारले लिनुपर्छ । म विभिन्न जातजातिका संस्कृतिहरुको तुलनात्मक अध्ययनमा छु ।’
२०७५ सालमा कैलालीको दुर्गौलीमा खुलेको दीर्घमोती स्मृति प्रतिष्ठानमा भाषा अनुसन्धान केन्द्रको कार्यालय राखेर काम गरेका बमलाई सुदूरपश्चिम प्रदेश सरकारबाट तीन लाख र जानकी गाउँपालिकाबाट एकथान फोटोकपि मेशिन र एक थान प्रिन्टर प्राप्त भएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. त्रैलोक्यनाथ जोशी सुदूरपश्चिममा बोलिने भाषाको संरक्षण र प्रवर्धन प्रतिष्ठानको पहिलो प्राथमिकता रहेकाले शब्दकोषको महत्व हेरी प्रकाशन गर्न सकिने बताए ।
गोरखापत्रबाट