२१ मंसिर २०७९, बुधबार December 7, 2022

अव्यवस्थित दोहनले मासिँदै सिमसार

१९ माघ २०७८, बुधबार
अव्यवस्थित दोहनले मासिँदै सिमसार

अविनाश चौधरी
धनगढी । प्राकृतिक मृगौलाको रुपमा लिइने सिमसार क्षेत्र कैलालीमा मासिँदै गएको छ । संरक्षण नहुनु र जथाभावी दोहन गरिनुले सिमसार क्षेत्र मासिँदै गएको हो । आम्दानीको लागि तालतलैयाको अव्यवस्थित प्रयोगले दिनप्रति दिन सिमसार क्षेत्रको विनाश भइरहेको सरोकारवालाको ठहर छ ।
सिमसार क्षेत्र मासिदैं जानुको प्रमुख कारण तालतलैयाको जथाभावी दोहन नै रहेको वसन्ता संरक्षित वन परिषद्का अध्यक्षस संरक्षणकर्मी पुस्कल बमले बताउनुभयो । ‘बडो विडम्बनाको कुरो छ, अब त सिमसार क्षेत्रलाई सिमसार भन्ने कि माछा पोखरी ?’, उहाँले भन्नुभयो । ‘कैयौं ठाउँको ताल त जग्गै बनिसके ।’
पानी नसुक्ने, जमिन नलुक्ने अर्थात सिमसिम पानी भएको दलदल क्षेत्रलाई सिमसार क्षेत्र भनिन्छ । तालतलैया, पोखरी, नदी किनार लगायत सिमसार क्षेत्रमा पर्दछन् । सिमसारमा जलीय प्राणीसहित चराचुरुङ्गी, वन्यजन्तु लगायत पृथ्वीका ४० प्रतिशत प्राणी प्रत्यक्ष रुपमा आश्रित रहेको मानिन्छ ।
यस्तै, सिमसार क्षेत्रले पानीको सञ्चय गरेर जमिनभित्र पठाउने (रिचार्ज गर्ने) महत्वपूर्ण काम गर्दछ । यसैगरी, पानीमा बग्ने फोहोरलाई थुपार्ने कार्यपनि गर्ने गरेकाले सिमसार क्षेत्रलाई प्राकृतिक मृगौला भनिएको हो । सिमसार क्षेत्र कैयौं वन्यजन्तुको प्रजनन् र क्रीडास्थलको रुपमा रहेको छ । जलपक्षीका लागि त झन पूरै संसार नै सिमसार क्षेत्र हो ।
तर, मानव जीवनका लागिसमेत अत्यन्त महत्वपूर्ण सिमसार क्षेत्र दिनदिनै विनाश हुँदै गएको संरक्षणकर्मी हिरुलाल डङ्गौराले बताउनुभयो । ‘सिमसार विनाश हुँदै जानले जलपक्षीको संसार नै उजाडिदैं गएको छ’, नेपाल पङ्क्षी संरक्षण सङ्घ (बीसीएन) मा चराविदको रुपमा कार्यरत उहाँले भन्नुभयो । ‘पछिल्लो समय हेर्ने हो भने, सिमसारमा पानी चराको सङ्ख्या घट्दै गएको देखिन्छ ।’
तालतलैयाको जिल्लाको रुपमा परिचित कैलालीमा साना–ठूला गरेर १८२ वटा ताल रहेको तत्कालीन जिल्ला विकास समितिको तथ्याङ्कमा उल्लेख थियो । पछिल्लो समय विभिन्न सामुदायिक वनमा कृत्रिम पोखरीसमेत निर्माण गरिएकाले तालतलैयाको सङ्ख्या बढेको अनुमान छ । यद्यपि, केही प्राकृतिक ताल सुकिसकेका छन् भने धेरै जसो सुक्ने क्रममा रहेका छन् ।
तालमा अव्यवस्थित तरिकाले माछा पालन गर्ने र पानी फालेर ताल सुकाउने कार्य सिमसारको मर्म विपरितका रहेको डङ्गौराको भनाइ छ । तालमा माछा पालन गर्ने र जथाभावी सुकाउने गरिएकै कारण संरक्षित बसन्ता वन क्षेत्रमा पर्ने लौकाभौका, जम्नेहटा, चम्रहिया, घोडताल, सोनिया रुपियाजस्ता ठूला सिमसारमा जलपक्षी घट्दै गएको उहाँको भनाइ छ । ‘चरालाई मार्ने गरिएकाले लौकाभौका तालमा त झन चरा बस्नै छोडिसके’, उहाँले भन्नुभयो ।

घाेडाघाेडी ताल 


संरक्षित बसन्तामै रहेको विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्र र रखौना सिमसारपनि सङ्कटमा छ । घोडाघोडी सिमसार क्षेत्रमा प्लाष्टिकजन्य फोहोर फाल्ने कार्य बढेको छ भने, रखौनामा माछा पालन गर्ने र पानी सुकाउने कार्य भइरहेको छ । तालतलैयालाई आम्दानीको लागि प्रयोग गर्न सकिने तर, त्यसको लागि पर्यावरणमैत्री व्यवस्थापन गर्नपनि जरुरी रहेको डङ्गौराको बुझाइ छ । ‘हैनभने, कलान्तरमा सिमसार रहँदैन’, उहाँले भन्नुभयो ।
सिमसार संरक्षणका लागि विभिन्न कार्य नभएको पनि होइन । सरकारी निकायदेखि लिएर गैरसरकारी संस्थाले थुप्रै काम गर्दै आएका छन् । तर, त्यति कार्य सिमसार संरक्षणको लागि पर्याप्त नरहेको बताइएको छ ।
पछिल्लो समय धेरै तालहरु सुक्दै गएको उल्लेख गर्दै डिभिजन वन कार्यालय पहलमानपुरका वन अधिकृत गोकुल रिजालले सिमसार सुधारका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ‘यसको व्यवस्थापनका लागि जुन रुपमा काम हुनु पर्ने हो, त्यति अहिलेसम्म भएको छैन’, उहाँले भन्नुभयो । ‘स्थानीय सरकार, सम्बन्धित कार्यालय योजना बनाएर अगाडि बढ्न आवश्यक छ ।’ सिमसारका लागि वन निकाय संवेदनशील रहेको उल्लेख गर्दै रिजालले जलीय पारिस्थितिकीय प्रणाली प्रवर्धनका लागि काम गर्दै आएको बताउनुभयो ।
सिमसार जोगाउनका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रुपमा मनाउने गरिएको छ ।

यसैबीच राससका अनुसार हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभाग, मधेस प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय र कोसीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको संयुक्त आयोजनामा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र र वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवको आतिथ्यतामा आरक्षको पश्चिमतर्फ सप्तरीमा कार्यक्रम गर्न लागिएको हो ।

संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयहरूमा स्वास्थ्यका मापदण्ड पालना गरी दिवसका विभिन्न कार्यक्रम गर्न लागिएको विभाग र वन तथा भू–संरक्षण विभागले जनाएका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नुका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

विभागका महानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताउनुभयो । सिमसारले वातावरण संरक्षण तथा पर्यापर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउँछ ।

सिमसारको अत्यधिक उपयोग, भूमि अतिक्रमण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो । यसबाहेक जलवायु परिर्वतनका असरले पोखरी सुक्दै गएका कारण पनि सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएका छन् ।

यही विषयलाई मध्यनजर गरी सरकारले स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम अघि सारेको छ । विश्वको करिब नौ प्रतिशत र नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । विभागको तथ्याङ्कानुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

विश्वव्यापीरूपमा सिमसार क्षेत्रको संरक्षण र सवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि १९७१) २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आवद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् ।

सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । रामसार सूचीमा नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बीसहजारी तथा आसपासका तालहरु, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड तथा आसपासका तालहरु, गोक्यो तथा आसपासका तालहरु, माईपोखरी र पोखरा उपत्यकाका ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ ।

सिमसार एक गतिशील, विविधतायुक्त र उर्वर पारिस्थितिकीय प्रणाली हो । सिमसारलाई जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश मानिन्छ । यसले पानीको स्रोत संरक्षण गर्नुका साथै यसको बहाव र गुणस्तर कायम गर्छ । सिमसार क्षेत्रले सिँचाइ, मत्स्यपालन, पर्यापर्यटन, कृषि उत्पादकत्व अभिवृद्धिमा सहयोग पुर्‍याउनेलगायत जैविक विविधताको दिगो व्यवस्थापनमार्फत राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु-याएको हुन्छ ।

गोरखापत्रबाट