९ जेष्ठ २०८१, बुधबार May 22, 2024

गुर्गी सिँचाइ आयोजना सञ्चालनमा नआउँदा किसानलाई समस्या

१५ माघ २०७९, आईतवार
गुर्गी सिँचाइ आयोजना सञ्चालनमा नआउँदा किसानलाई समस्या

धनगढी । कैलालीको १८ गाउँका किसान सिँचाइ समस्या भोगिरहेका छन् । कैलारी गाउँपालिका–२ कुकुरभुक्कास्थित कटैनी नदीमा रहेको गुर्गी सिँचाइ आयोजना सञ्चालनमा नआउँदा सो गाउँपालिकाको वडा नं. १, ५ र ७ को १८ गाउँका किसान समस्या भोगिरहेका हुन । उनीहरुले सो आयोजनाबाट सिँचाइ गर्न नपाएको डेढ दशक पुग्न थालेको छ ।
‘गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउँदासम्म सिँचाइ गर्न समस्या थिएन, पानी कहाँ फाल्ने भन्ने थियो’, कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका कृषक ठग्गुराम चौधरीले विगत स्मरण गर्दै भने,‘अहिले सिँचाइ गर्नका लागि पानी कहाँबाट पाउने भन्ने भएको छ ।’गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउन छोडेपछि अकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्न बाध्य भएको किसान बताउँछन् । अहिले सामान्य किसानलाई कृषिमा लगानी गर्न ठूलो समस्या भइरहेको उनीहरुको भनाइ छ ।

किसानले सबैभन्दा बढी मलखाद र सिँचाइका लागि डिजल खरिदमा खर्च गर्नु परिरहेको सोही गाउँका अर्का कृषक बाँधुराम चौधरीले बताए । ‘सिँचाइमै धेरै डिजल खर्च हुने गर्दछ’, उनले भने,‘डिजल भएन भने हाम्रो त खेतीपाती नै हुँदैन ।’गुर्गी सिँचाइ आयोजनाको पानी कुलोमा आउँदासम्म एकसाथ धेरैको खेतमा सिँचाइ सुविधा भएको किसानका भनाइ छ । तर, आयोजनाको पानी आउन छोडेपछि खेतीपाती गर्न धेरै समस्या हन थालेको उनीहरु बताउँछन् ।

२०६४ मा आएको बाढीले बाँध भत्काएपछि यो आयोजनाबाट किसानको खेतसम्म पानी पुग्न सकेको छैन । बन्द आयोजना जीर्ण बन्दै गएको छ । २०५० को दशकसम्म डेढ दर्जन गाउँसम्म सिचाइँ भए पनि बाँध भत्केपछि नहरमा पानी आउन बन्द भएको कैलारी गाउँपालिका–७ का पूर्व वडा अध्यक्षसमेत रहेका कृषक कमलप्रसाद चौधरी बताउँछन् । ‘गाउँका स्थानीय किसानले सिचाइँ सुविधाका लागि चार÷पाँच महिनासम्म नहर निर्माणमा जनश्रमदान गर्ने गरेका थिए’, आफूले पनि जनश्रमदान गरेको स्मरण गर्दै उनले थपे–‘तर, हजारौं किसानको भविष्यसंग जोडिएको यो आयोजना दीर्घकालिन बन्न सकेन ।’

स्थानीयका अनुसार कुनै बेलाका जमिन्दार रामदिन महतो, छिमानन्द र देशराज महतोले सिचाइँका लागि आफ्ना रैतीमार्फत बाँध निर्माण गराएका थिए । जुन बाँध माटो र झारपातले बनेको कच्ची थियो । कच्ची बाँध नटिक्ने भएपछि २०२६ सालमा छटकपुर बसन्ताका तत्कालीन स्थानीय रोइना चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समितिले ढुङ्गाको बाँध बनाइ किसानका खेतसम्म पानी पु¥याएको थियो ।

तत्कालिन द्वन्द्व व्यवस्थापनपछि नेपाल सरकारको लगानीमा आर्थिक वर्ष २०६२÷०६३ मा प्रेमशङ्कर भट्टको पीएस कन्स्ट्रक्शनले पक्की बाँध बनाएको थियो । तर, डेढ करोडभन्दा बढी रुपियाँ लगानी गरेर बाँध बनाउँदा पनि त्यो दीर्घकालीन हुन सकेन । लगत्तै २०६४ मा आएको बाढीले बाँध भत्कायो । अहिले गुर्गी सिचाइँ आयोजना नाममात्राको छ । किसानको खेतसम्म पानी पु¥याउनका लागि बनाइएको मूल नहर ठाउँ–ठाउँमा मिचिएको छ ।

यो आयोजनालाई पुनः सञ्चालनका लागि पुरानो जीर्ण संरचना सबै भत्काएर फेरि नयाँ संरचना बनाउन आवश्यक रहेको गुर्गी सिँचाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्म चौधरीले बताए । ‘त्यसको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ’, उनले भने,‘अब डीपीआर अनुसार नै निर्माणको कार्य अगाडि बढ्नेछ ।’

यो आयोजनाबाट वडा नम्बर १ को मझरा, मनाउँ, हसुलिया, बिसनपुर, हरिनगर, ५ को पवेरा, छुट्की पलिया, बड्का पलिया, बंगालीपुर, जबदहुवामा सिँचाइ सुविधा भएको थियो । यस्तै, वडा नम्बर ७ को रतनपुर, मोहनपुर, तिघरी, बसन्ता लगायतका गाउँसम्म सिँचाइ हुँदै आएको थियो । गुर्गी सिँचाइ आयोजना बन्द भएपछि किसान आकाशे पानी र बोरिङको भरमा खेतीपाती गर्दै आएका छन् ।

यो आयोजना निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै, सङ्घ सरकारले ५० करोड रुपैयाँ दिने जनाइएको छ । गुर्गी सिँचाइ आयोजनाको लागि चालू आर्थिक वर्षमा ५६ करोड रुपैयाँ बजेट रहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले भने,‘बजेट पर्याप्त छ । हामी जसरी पनि यो आयोजना बनाउँछौं ।’
पश्चिमटुडेबाट