थारु लोक संस्कृति सख्या नाच गीतको छायांकन


सुर्खेत । वीरेन्द्रनगरमा एक समारोहका बिच थारु लोक संस्कृति झल्कने थारु सख्या नाच गीतको छायांकन सुरु भएको छ । थारुहरुको मौलिक पहिचान बोकेको सख्या नाच गीत लोप हुँदै गइरहेकोले यसको संरक्षण संवर्धन गर्नका लागि थारु कल्याण कारिणी सभा र लखागिन थारु उत्थान मञ्च सुर्खेतको सहकार्यमा निर्माण गर्न लागिएको हो ।
सख्या नाच गीतको संकलन, संयोजन, सम्पादन तथा निर्देशन सुर्खेतका थारु संस्कृतिविद मान बहादुर चौधरी पन्नाले गरेका छन् । सख्या नाच गीतका निर्देशक मान बहादुर चौधरी पन्नाले थारुहरु संस्कृतिका धनी हुँदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नु पर्ने अवस्था आइरहेको प्रति संकेत गर्दै यो कार्य सुर्खेतका थारु जातिका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।


यस सख्या नाच निर्माणका लागि आर्थिक सहयोग समाजसेवी सनिसरा महतले गरेका छन् । पश्चिमा थारु समुदायमा दसैँको समयमा अट्वारी पर्वपछि करिब दुई महिनासम्म नाचिने यो नाच आजभोलि लोप हुन लागेकोलो आफूले लगानी गरेको बताए । गीत संस्कृति समाजकै दर्पण भएकोले यस्ता रचनात्मक कार्यमा युवापुस्ताले ध्यानदिनु पर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य मान बहादुर चौधरीले थारु जातिको पहिचानसँग जोडिएको नाच गीतको भिडियो हुन लाग्दा आफू निकै खुशी भएको बताए । थारु जातिको लोक संस्कृति लोप हुँदै गइरहेको अवस्थामा यस सख्या नाच गीतले थारु संस्कृतिमा कोसेढुङ्गा सावित हुने कुरा बताए । यसका लागि थारु समुदाय आफैमा जागरुक हुनुपर्ने बताए ।
अर्का थाकसका केन्द्रीय सदस्य कृष्ण बहादुर थारुले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भए पनि राज्य थारुहरुको कला संस्कृति मुल्य मान्यताप्रति उदासिन भएको बताए । कर्णाली प्रदेशकै गहनाका रुपमा रहेका सुर्खेती थारु जातिको संस्कृतिप्रति स्थानीय सरकार, प्रदेश सरकार गम्भीर नहुनु दुखद भएको टिप्पणी गरे ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका सल्लाहका संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकपनको संरक्षण, नाच गीत, चालचलन र परम्पराको डकुमेन्ट्री बनाउन समेत आवश्यक रहेको औंल्याए ।
थारु कल्याणकारिणी सभाका जिल्ला सभापति बेचुलाल चौधरीको सभापतित्वमा उद्घाटन समारोह समापन भएको थियो । यो गीतमा यो संसारको सृष्टिदेखि राधा कृष्णका लीला तथा एवम् कंशको वधसम्मको आख्यान रहेको छ । यस गीतमा राधा कंशको पत्नीको रुपमा चित्रित छन भने कृष्णको राधासँगको प्रेमलीलामा आधारित रहेको छ । करिब दुई महिनासम्म नाचिने यस गीत गाउँघरमा लोप हुने अवस्थामा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *