धनगढी, १९ असोज । चैतन्य स्पोट्र्स एकेडेमी, धनगढीको आयोजनामा चैतन्य पाठशाला अन्तरविद्यालय शिक्षक फुटसल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
पाठशालाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही असोज २४ र २५ गते चैतन्य पाठशालाको फुटसल कोर्टमा सञ्चालन हुने जानकारी दिइएको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा दर्ता भई सञ्चालनमा रहेको चैतन्य स्पोट्र्स एकेडेमीले शिक्षक तथा शिक्षाकर्मीलाई कक्षाकोठाभन्दा बाहिर खेलमैदानमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
“कक्षाकोठादेखि खेलमैदानसम्म सिकाउने, खेल्ने र प्रेरणा दिने शिक्षकहरू” भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताले शिक्षक तथा शिक्षाकर्मीबीच खेलभावनाको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन, विभिन्न विद्यालय तथा शैक्षिक संस्थाबीच व्यावसायिक सम्बन्ध सुदृढीकरण र सामूहिक कार्यभावनाको विकासमा योगदान पु¥याउने विश्वासका साथ प्रतियोगिता गर्न लागिएको जनाएको छ ।
कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको पाठशालाका निर्देशक कटकबहादुर सिंह बताए ।
उनले प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान बताए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सहभागी हुने टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टोली दर्ता असोज २१ गतेभित्र गरि सक्नु पर्ने जनाएको छ ।