धनगढी, २ मंसिर । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सव–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । संघले आगामी मंसिर २२ गतेदेखि पुस ५ गतेसम्म धनगढी उपमहानगरपालिका–१, पशुपति टोलमा महोत्सव आयोजना गर्न लागेको हो ।
सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग तथा व्यापारको प्रवद्र्धनसँगै स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।
यस वर्षको महोत्सवमा बृहत् व्यावसायिक तथा कृषि प्रदर्शनीलाई विशेष प्राथमिकता दिइएको छ । कृषि क्षेत्रमा नवीनतम प्रविधि, ताजा तरकारी तथा कृषि उपजको प्रदर्शनीसँगै स्थानीय कृषि तथा व्यावसायिक उत्पादनलाई विशेष रूपमा प्रदर्शनमा राखिनेछ । यसबाट कृषक, उद्यमी तथा व्यवसायीलाई आफ्ना उत्पादनको बजारीकरण, प्रविधि आदानप्रदान र व्यावसायिक अवसर विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा सुदूरपश्चिमका मौलिक कला, संस्कृति, लोकगीत, लोकनृत्य तथा परम्परालाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागिता रहने महोत्सवमा भारतलगायत अन्य क्षेत्रबाट सहभागी हुने उद्योगी तथा व्यवसायीलाई समेत सम्मानजनक सहभागिताको अवसर प्रदान गरिने संघले जनाएको छ ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवलाई केवल व्यापारिक तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा नभई सुदूरपश्चिमको आर्थिक समृद्धि, उद्यमशीलता, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणसँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताएका छन् ।
उनका अनुसार महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्नुका साथै रोजगारी सिर्जना, लगानी आकर्षण र समग्र आर्थिक गतिविधि विस्तारमा योगदान पु¥याउनेछ । महोत्सवबाट सिकेको सीप र अनुभवलाई उपयोग गर्दै युवाहरू आफ्नै व्यवसाय सुरु गरी उद्यमी बन्न सफल भएको अध्यक्ष ओझाको भनाइ छ ।
महोत्सवमा करिब चार करोड रुपैयाँ लगानी हुने र अवधिभर करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका करिब ४२५ वटा स्टल रहने आयोजकले जनाएको छ ।
महोत्सवमा दर्शक आकर्षित गर्न ‘अम्ब्रेला स्ट्रिट’ लगायतका आकर्षणसमेत रहनेछन् । आयोजकका अनुसार महोत्सवमा करिब पाँच लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ । कैलाली उद्योग वाणिज्य संघमा दर्ता भई नवीकरण भएका सदस्यलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक समितिसहित २४ वटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै महोत्सवस्थलमा निजी तथा सरकारी सुरक्षा जनशक्ति परिचालनका साथै आधुनिक सीसीटीभी क्यामेरामार्फत निरन्तर निगरानी गरिने संघले जनाएको छ ।
मौसमी चुनौती तथा सम्भावित विपद् व्यवस्थापनलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकामार्फत आवश्यक सुरक्षा सामग्री, दक्ष जनशक्ति तथा विपद् प्रतिकार्यको पूर्वतयारी सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको अध्यक्ष ओझाले बताएका छन् ।
संघले सुदूरपश्चिम महोत्सवलाई प्रदेशको आर्थिक समृद्धि, उद्यमशीलता, पर्यटन विकास तथा मौलिक कला–संस्कृतिको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।