२१ असार २०८३, आईतवार July 5, 2026

मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

२१ असार २०८३, आईतवार
मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

धनगढी, २१ असार । मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ ।

मोहना नदी पारिरहेको खेत (कगलहर) मा पानी तान्ने बोरिङको पाइप लिएर जाने क्रममा शनिबार विहान उहाँ डुबेर बेपत्ता भएका थिए । त्यसदिन दिनभरी खोजीकार्य गर्दा पनि नभेटिएको चौधरीको शव डुबेकोे भन्दा करिब तीन किलोमिटर तल हौसलपुर क्षेत्रमा फेला परेको हो ।

सीमावर्तीय भारतीय गाउँ गोलबोझियाका स्थानीयले नदीमा शव बगिरहेको देखेपछि सम्बन्धित गाउँका स्थानीयलाई खबर गरेका थिए । बीओपी भुइयाँफाँटाबाट गएको सशस्त्र प्रहरीको टोली र स्थानीयले हौसलपुरस्थित झोलुङ्गे पुल क्षेत्रमा शव भेटाएका छन् ।

गतवर्ष पनि मोहना नदी पारिरहेको खेतमा जानेक्रममा सोही गाउँका एक अर्का व्यक्तिको डुबेर मृत्यु भएको थियो । मोहना नदीले कटान गरेपछि केही स्थानीयको खेती मोहना नदी पारिरहेको छ । उनीहरु हरेक वर्ष जोखिम मोलेर खेतीपाती गर्न पारिजाने गरेका जनाइएको छ ।