२९ जेष्ठ २०८३, शुक्रबार June 12, 2026

सञ्चार माध्यममाथिको विभेदकारी निर्णय विरुद्ध धर्ना

२९ जेष्ठ २०८३, शुक्रबार
सञ्चार माध्यममाथिको विभेदकारी निर्णय विरुद्ध धर्ना

धनगढी, २९ जेठ । नेपाल पत्रकार महासंघ कैलाली शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना कार्यक्रम गरिएको छ । निजी सञ्चार माध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्रअनुसार कैलालीमा पनि धर्ना कार्यक्रम गरिएको हो ।
पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको संरक्षणको माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै धर्ना दिएका थिए । धर्नाका क्रममा सहभागी पत्रकारहरूले प्रेस तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निजी सञ्चारमाध्यममाथि गरिएका विभेदकारी निर्णयहरू खारेज गर्नुपर्ने माग राखेका थिए । उनीहरूले लोकतन्त्रको आधार स्वतन्त्र प्रेस भएकाले सञ्चारमाध्यमलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष देउवाले सरकारले सुरुदेखि नै निजी सञ्चारमाध्यमप्रति अनुदार व्यवहार देखाएको आरोप लगाउँदै सरकारी विज्ञापन रोक्ने निर्णयले सञ्चार क्षेत्रलाई आर्थिक रूपमा कमजोर बनाउने प्रयास भएको बताए । उनले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको अस्तित्वमाथि असर पर्ने निर्णयहरू फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने स्पष्ट पारेका थिए ।
महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा चरणबद्ध आन्दोलन जारी रहेको छ। कैलालीमा पनि सोही कार्यक्रमअनुसार दोस्रो दिनको धर्ना सम्पन्न भएको हो।
पत्रकारहरूले स्वतन्त्र प्रेसमाथिको कुनै पनि प्रकारको नियन्त्रण वा हस्तक्षेप लोकतान्त्रिक मूल्य र संविधानको भावना विपरीत हुने उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन्।