धनगढी, २५ जेठ । नेपाल पत्रकार महासंघको चरणबद्ध आन्दोलनअन्तर्गत नेपाल पत्रकार महासंघ कैलाली शाखाले पत्रकारहरूको एक्यबद्धता हस्ताक्षरसहितको ज्ञापन जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्रीलाई पठाएको छ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा गएको पत्रकारहरूको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर एक्यबद्धता हस्ताक्षर बुझाएको हो। उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने जनाइएको छ।
हस्ताक्षर बुझाउने कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्ट तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाका पदाधिकारी एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष देउवाले नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्रअनुसार देशभर सञ्चालित चरणबद्ध आन्दोलनलाई सशक्त बनाउन र पत्रकार समुदायका मागप्रति सरकारको ध्यानाकर्षण गराउन कैलालीबाट पनि एक्यबद्धता हस्ताक्षर संकलन गरी बुझाइएको बताए।
उनले पत्रकारिताको स्वतन्त्रता, श्रमजीवी पत्रकारका अधिकार तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सरकारलाई आवश्यक दबाब सिर्जना गर्न देशभरका शाखाहरूले समन्वयात्मक रूपमा अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।
नेपाल पत्रकार महासंघले आफ्ना विभिन्न मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै देशव्यापी रूपमा चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइरहेको छ। सोही कार्यक्रमअन्तर्गत कैलाली शाखाले पनि पत्रकारहरूको एक्यबद्धता हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पठाएको जनाएको छ।