२५ जेष्ठ २०८३, सोमबार June 8, 2026

वृहत प्रतिभा प्रतियोगिता हुने

२५ जेष्ठ २०८३, सोमबार
वृहत प्रतिभा प्रतियोगिता हुने

धनगढी, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक वृहत प्रतिभा प्रतियोगिता हुने भएको छ ।
कलोसन पव्लिकेशन प्रालिको आयोजनामा प्रतियोगिता हुने भएको हो । सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी दिएको हो । कलोसन पव्लिेकेशन प्रालिका कार्यकारी निर्देशक दीप श्रेष्ठ प्रतियोगिता बारे जानकारी गराएका हुन् ।
उनले प्रदेशमै पहिलोपटक आयोजना हुन प्रतियोगिताले यस क्षेत्रका साथै देशभर छरिएर रहेका प्रतिभाहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पहिचान दिलाउन, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न तथा नयाँ अवसरहरूको सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यकारी निर्देशक श्रेष्ठले प्रतियोगिता मार्फत विभिन्न क्षेत्रका प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदा गर्ने बताए । कार्यक्रममा गायन, नृत्य, अभिनय, वाद्यवादन, चित्रकला, कविता बाचन, मोडलिङ, लोककला, लोकगायन, लोकनृत्य, मार्सल आर्ट, जादुकला, हस्तकला, मूर्तिकला, मिमिक्री, स्टेज पर्फर्मेन्स, सांस्कृतिक प्रस्तुति, हेयर स्टाइलिङ, मेकअप आर्ट, बिटबक्स, व्याप, हिपहप, साइकल स्टन्ट, स्केटिङ, कमेडी प्रस्तुति, एड्करिङ, कथा बाचन लगायत अन्य विविध सिर्जनात्मक तथा कलात्मक विधाका प्रतिभाहरूले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको मुख्य उद्देश्य नेपालभर रहेका प्रतिभाशाली व्यक्तिहरूको खोजी तथा प्रवद्र्धन गर्नु, ओझेलमा रहेका प्रतिभाहरूलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउनु, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु तथा युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्नु रहेको प्रालिकी प्रवन्ध निर्देशक सुष्मा श्रेष्ठले बताइन् ।

कार्यक्रम तीन चरणमा सञ्चालन गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा अडिसन राउन्ड सञ्चालन गरी सहभागीहरूको प्रारम्भिक प्रतिभा मूल्याङ्कन गरिनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीहरू दोस्रो चरण अर्थात् अनलाइन भिडियो राउन्डमा सहभागी हुनेछन्, जहाँ उनीहरूको प्रस्तुति भिडियोमार्फत मूल्याङ्कन गरिनेछ । त्यसपछि उत्कृष्ट प्रतियोगीहरूलाई ग्रान्ड फिनालेमा सहभागी गराई अन्तिम प्रतिस्पर्धामार्फत विजेता घोषणा गरिनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले एकसय फारम शुल्क बुझाउनुपर्नेछ भने अनलाइन भिडियो राउन्डका लागि एकहजार भिडियो मेकिङ शुल्क निर्धारण गरिएको छ ।
कार्यक्रमका विजेताले नगद रु दुईलाख, ४ फिट अग्लो भव्य ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट २५ जना प्रतियोगीलाई जनही पाँचहजार नगदसहित प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै उत्कृष्ट ५ जना प्रतिभाशाली सहभागीहरूलाई विद्यालयमा छात्रवृत्तिको विशेष व्यवस्था समेत गरिएको छ ।