१२ जेष्ठ २०८३, मंगलवार May 26, 2026

गंगा दशहारा सुरु, बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास

१२ जेष्ठ २०८३, मंगलवार
गंगा दशहारा सुरु, बेहडाबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास

धनगढी, १२ जेठ । नेपाली र भारतीय श्रद्धालुको आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गादशहराको अवसरमा लाग्दै आएको धार्मिक मेला मङ्गलबार राति १२ बजेदेखि सुरु भएको हो । बेहडाबाबा मन्दिरमा रहेको शिवलिङ्गमा राति १२ बजे पूजाआजासहित जल चढाएर मेलाको सुरुवात गर्ने चलन रहिआएको छ ।


कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित जङ्गल क्षेत्रमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि नेपालीसहित हजारौँ भारतीय दर्शनार्थी आउने गरेका छन् । बेहडाबाबामाथि भारतीय दर्शनार्थीको अगाध श्रद्धा रहेको छ । बेहडाबाबाको दर्शन गरेर शुद्ध मनले मागेका कुरा प्राप्त हुने गरेको भारतीय दर्शनार्थीले बताउने गरेका छन् । बेहडाबाबाको दर्शन गर्दा सुख, शान्ति, समृद्धि र सन्तान प्राप्त हुने गरेको उनीहरूको भनाइ छ ।


बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने गरेको भारतको उत्तर प्रदेश खिरीस्थित भिराका सोहनलाल साहुले बताए । “सन्तान नहुनेले बेहडाबाबाको दर्शन गरेमा सन्तान पनि प्राप्त हुने गर्दछ,” बेहडाबाबा जाँदै गर्दा धनगढीमा भेटिएका उनले भने, “बेहडाबाबाको दर्शन र पूजाआजा गर्दा मनोकामना पूरा हुने गरेकाले म विगत केही वर्षदेखि प्रत्येक वर्ष यहाँ गङ्गादशहरामा दर्शन गर्न आउने गरेको छु ।”
जेठको चर्को गर्मीमा पनि भारतीय दर्शनार्थी गौरीफन्टा नाकादेखि बेहडाबाबा मन्दिरसम्म प्रायः हिँडेरै पुग्ने गरेका छन् । झोलाझम्टा, बालबच्चा बोकेर उनीहरू पैदल हिँडेर आएको देखिन्छ । नाकाबाट बेहडाबाबा करिब १२ किलोमिटर टाढा रहेको छ ।
भारतीय श्रद्धालुका लागि मन्दिरपरिसरमा धर्मशाला सञ्चालन गर्दै आएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । समितिका अध्यक्ष खेमबहादुर चन्दले जेठ १२ देखि १५ गतेसम्म गङ्गादशहरा मेला रहने जानकारी दिए । उनले भारतबाट दर्शनका लागि आउने श्रद्धालुलाई सहज रूपमा आउन पाइने व्यवस्था मिलाउन प्रशासनलाई आग्रह गरेका छन् । “अहिले नाकामा धेरै कडाइ गरिएको छ,” चन्दले भने, “तर बेहडाबाबाको दर्शनका लागि आउने भारतीय तीर्थालुलाई सहज रूपमा आउन दिने वातावरण बनाउन म प्रशासनलाई आग्रह गर्दछु ।”
बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको लखिमपुर, पलिया, चन्दनचौकी, तिकुनियाँ, बेलराया, भिरा, साहजाँपुरबाटसमेत तीर्थालु आउने गरेको बताइएको छ । यसै गरी विभिन्न जिल्लाबाट नेपाली दर्शनार्थी बेहडाबाबा मन्दिरको दर्शन गर्न आउने गरेका छन् ।
अध्यक्ष चन्दका अनुसार करिब सय वर्ष पहिले भारतीय एक ग्वालाको गाईले जङ्गलमा आफैँ उत्पत्ति भएको शिवलिङ्ग पत्ता लगाएको थियो । “मान्छेको बसोबास नभएको त्यो बेला यहाँ भारतका ग्वालाहरू गाई चराउन आउने गर्थे,” उनले भने, “एउटा गाईले शिवलिङ्ग फेला पारेर आफ्नो दुध चढाउँदै गरेको भेटिएको भनाइ छ ।” बेहडाबाबामा रहेको शिवलिङ्ग सबैभन्दा पहिले भारतीय ग्वालाले देखेर पूजाआजा गरेकाले यो मन्दिरप्रति पहिल्यैदेखि भारतीय श्रद्धालुको अगाध श्रद्धा रहेको बताइएको छ ।
प्रसिद्ध बेहडाबाबा मन्दिरको दर्शन गर्नका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले पालिकाभरि जेठ १२ गते स्थानीय बिदा दिएको छ । यस्तै रात्रीकालीन समयमा यात्रा गर्ने दर्शनार्थीको सुरक्षालाई मध्यनजर गरेर धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढीदेखि बेहडाबाबा मन्दिरसम्म बाटोभरि बत्तीको व्यवस्था गरेको छ । यसै गरी सहज आवतजावतका लागि सडक मर्मत पनि गरिएको छ ।