धनगढी, १० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आइतबार धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा आयोजित टोल भेला कार्यक्रमलाई सम्बोधन गर्दै जनताको मत नै समृद्धिको आधार हुने बताएका छन्।
कार्यक्रममा बोल्दै उनले कैलाली–५ लाई विकास र पूर्वाधारको हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । “म चुनाव जित्नका लागि मात्र होइन, काम गर्नका लागि मैदानमा आएको हुँ,” उनले भने, “यहाँका युवालाई रोजगारी, किसानलाई उचित मूल्य र हरेक टोलमा आधारभूत सेवा पु¥याउनु मेरो पहिलो प्राथमिकता हो।”
आफू विगतमा तीन पटक मन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका कामको चर्चा गर्दै उनले अनुभव र कार्यसम्पादनकै आधारमा जनताले फेरि अवसर दिने विश्वास व्यक्त गरेका थिए ।
स्थानीयवासीका समस्या, विशेषगरी सडक, खानेपानी र सिँचाइको विषयमा तत्काल पहल गर्ने उनले आश्वासन दिए। यस्तै उम्मेदवार आलेले विकास, सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले कैलाली–५ लाई कृषि, पर्यटन, शिक्षा र पूर्वाधार विकासको केन्द्रका रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
टोल भेलामा स्थानीय बासिन्दाले विकास, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने माग राखेका थिए। साथै उनीहरु आफ्नो क्षेत्रको दीर्घकालीन विकास, रोजगारी सिर्जना र आधारभूत सेवाको विस्तारका लागि सक्षम नेतृत्व आवश्यक रहेको धारणा राख्दै आलेप्रति समर्थन जनाएका थिए ।
उम्मेदवार आलेले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै निर्वाचनमा विजयी भएमा यस क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री दीर्घ सोडारी, पुर्व मन्त्री कृष्ण सुवेदी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।