धनगढी, १० साउन । थारु भाषा, साहित्य र संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि क्रियाशील संस्था हिरगर साहित्यिक बगालले धनगढीमा शुक्रबार थारु साहित्यिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
धनगढी स्थित थारु छात्रवासमा भएको कार्यक्रमा थारु भाषामा कविता वाचन, कथा, मुक्तक, लोकगीत, परम्परागत नाचगान लगायत विविध साहित्यिक प्रस्तुतिहरू रहेको थियो । साथै थारु साहित्यको समकालिन अवस्था, चुनौती र सम्भावनाबारे विद्वान, लेखक, संस्कृतिकर्मी तथा युवा सर्जकहरूबीच विचार–विमर्श गरिएको छ ।
२०७१ सालमा जिल्ला प्रशासन कार्यालय, कैलालीमा दर्ता २०२० भई स्थापना भएको हिरगर साहित्यिक बगालले विगतदेखि निरन्तर रूपमा थारु भाषा र मौलिक सांस्कृतिक पहिचानका पक्षमा विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै आइरहेको छ ।
संस्थाका अध्यक्ष हिरालाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सागर कुश्मीले गरेका थिए ।
कार्यक्रममा साहित्यप्रेमी, भाषा–संस्कृतिका अध्येता, पत्रकार, लेखक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।