६ भाद्र २०८३, शनिबार August 22, 2026

धनगढीमा अस्टिम्कीको दर खाने कार्यक्रम आयोजना हुने

६ भाद्र २०८३, शनिबार
धनगढीमा अस्टिम्कीको दर खाने कार्यक्रम आयोजना हुने

धनगढी, ६ भदौ । धनगढीमा अस्टिम्की पर्वको दर (भिनसह्यिा भात) खाने कार्यक्रम आयोजना हुने भएको छ ।
शनिबार धनगढीमा थारु महिला सञ्जाल कैलालीको आयोजनामा बसेको बैठकले अस्टिम्की पर्वको जानकारी सहित दर खाने कार्यक्रमको आयोजना गर्ने भएको हो ।
सञ्जालकी अध्यक्ष सरिता चौधरीले थारु समुदायको लोक कला संस्कृति संरक्षण तथा प्रवद्र्धन र पर्वबारे जानकारी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न गइरहेको बताइन् । यस वर्ष अस्टिम्की अर्थात कृष्ण जन्मअष्टमी यहि भदौ १९ गते शुक्रबार परेको छ । दरखाने कार्यक्रम भदौ १८ गते बिहीबार धनगढी स्थित बुद्धबिहारको सभा हलमा हुने जनाइएको छ ।


सोही बैठकले थारु समुदायमा विकराल रुपमा देखिएको सिकल सेल एनिमिया रोगको निदानका लागि सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रायललाई ज्ञापनपत्र बुझाउने निर्णय भएको सञ्जालकी सचिव रजनी चौधरीले जानकारी दिइन् ।

अस्टिम्कीको दर (भिनसह्यिा भात) खाने कार्यक्रम पर्व थारु महिला सञ्जाल, थारुकाल्याणकारिणी सभा धनगढी नगरसमिती, थारु कल्याणरिणी सभा जिल्ला कार्यसमिती, कञ्चनपुर, थारु महिला सञ्जाल कैलाली, सखी सञ्जाल, कैलाली, गोहिनके फाउण्डेशन, थारु लेखक संघ नेपाल, बातचित घर धनगढी, नगर भल्मन्सा समिती कैलाली, थारु पत्रकार संघ कैलाली, थारु राष्ट्रिय कलाकार मञ्च सुदुरपश्चिम प्रदेश, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलाली, थारु महिला सभा कैलाली, हिरगर साहित्यिक बगाल, हमार चैनार समुह, कैलाली लगायत संघसंस्था लगायत संघसंस्थाको आयोजनाम हुने भएको हो ।

अस्टिम्की पर्वमा खासगरी, थारु महिलाहरूले राति दर खाई दिनभरी ब्रत बस्ने गर्दछन् । साँझपख व्रतालु महिला तथा युवतीहरू घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन् । टिक्ने काम सम्पन्न भएपछि फलफूलहरू खाने प्रचलन रहेको छ ।
थारु जानकारहरुका अनुसार अस्टिम्कीको उत्पत्ति ‘अष्टमीटिका’बाट भएको हो । भगवान श्रीकृष्णलाई थारु समुदायमा ‘कान्हा’को नामले चिनिन्छ । अस्टिम्की’को अर्थ भदौ महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकोले उनको टीका लगाउनु हो । ‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरूले विशेष रूपमा मनाउने हुनाले यस पर्वलाई थारु समुदाममा अस्टिम्की भनिने प्रलचन रही आएको हो ।