धनगढी, २७ जेठ । पत्रकार आवस गृहका लागि बजेट माग गर्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई माग पत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष श्रवण देउवाको नेतृत्वमा गएको टोलीले कैलाली शाखामा आवास गृह निर्माणका लागि बजेट माग गरेको हो ।

त्यसैगरि पत्रकारहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम र प्रदेश मातहतका अस्पतालमा ५० प्रतिशत उपचारमा छुटको व्यवस्था गर्न माग गरिएको हो । टोलीले कानून मन्त्रालयले सञ्चार माध्यमललाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको बजेट बढाउन र विज्ञापनका लागि सञ्चार माध्यमले अनलाइनबाटै आवेदन दिने व्यवस्था गर्नु पर्ने माग गरेको छ ।
त्यसैगरि लोककल्याणकारी विज्ञापन दिँदा अपाङ्गगता, अल्पसंख्यक तथा महिला श्रमजीवी पत्रकारले सञ्चालन गरेका सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने, प्रदेशमा प्रेस रजिष्टारको कार्यालय स्थापना गर्नुपर्ने, मिडिया सम्बन्धी विधेयक सहित सञ्चार सम्बद्ध कानुनहरु पत्रकार महासंघ लगायत सरोकारवालासँग छलफल तथा परामर्श गरेर ल्याउन र त्यस्ता कानुनमा महासंघका सरोकारका विषय समेटिनु पर्ने रहेको छ ।
त्यसैगरि पत्रकारहरुको पेशागत सीप, क्षमता विकास तथा फेलोसिपका कार्यक्रमहरु बजेटमा समावेश गरिनुपर्ने र पत्रकार महासंघ कैलाली शाखामा सञ्चार कक्ष स्थापना लािग बजेटको व्यवस्था गरिदिन आग्रह गर्दै मागपत्र बुझाएको हो ।
केही दिन अघि सोही माग सहित आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीलाई मागपत्र बुझाइएको थियो । उक्त टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पनि तीनबुँदे मागपत्र बुझाएको छ । मागपत्रमा पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुने गरी पर्यटनका विषयमा पत्रकारहरुलाई फेलोसिपको व्यवस्था गरिनुपर्ने, पत्रकारका लागि पर्यटन तथा पर्यावरणका विषयमा क्षमता विकास तालिम र पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा समन्वय गर्न आग्रह गरिएको छ ।
सामाजिक विकासमन्त्री मेघराज खड्कालाई पनि टोलीले विभिन्न माग सहित चारबुँदे मागपत्र बुझाएको थियो । मागपत्रमा उपचारमा छुट, पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धि क्षमता विकास गर्न तालिम, गोष्ठी सञ्चालन गर्न बजेट विनियोजन गर्नुपर्ने, स्वास्थ्य, शिक्षा, खेलकुद, श्रम आदि विषयमा पत्रकारलाई फेलोसिपका कार्यक्रमहरु बजेटमा समावेश गर्नुपर्ने र पत्रकारहरुका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको लागि रकम विनियोजन गर्नुपर्ने माग गरिएको थियो ।
मागपत्र बुझाउन नेपाल पत्रकार महासंघ कैलाली उपाध्यक्ष भावना जोशी, विराज रोस्यारा, सचिव तेजराज भट्ट, जिल्लास्थित पेशागत विभिन्न संगठन प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझा, प्रेस चौतारी कैलालीका अध्यक्ष जनक बिष्ट, प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष सुरेन्द्र ताम्राकार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीका अध्यक्ष राम दहित सहितको पत्रकारको टोली रहेको थियो ।