धनगढी, २४ असोज । कैलालीको कैलारी गाउँपालिका–१ हरिनगर निवासी ३२ वर्षीय अनिल चौधरी दुवै मिर्गौला फेल भएपछि लामो समयदेखि उपचाररत छन् । विगत एक वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनी नियमित रूपमा डायलाइसिस गराउँदै आएका छन् ।
उपचाररत चौधरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २०८३ साल असोज १९ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको उनकी श्रीमति निरु चौधरीले जानकारी दिइन् । उनको उपचारका क्रममा अहिले अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा समेत राखेर उपचार भइरहेको उनले बताइन् ।
लामो समयदेखि उपचार गराउँदै आएका चौधरीको उपचारमा आर्थिक समस्या देखिएको छ । निरन्तर डायलाइसिस तथा अस्पतालमा उपचार गराउनुपर्ने भएकाले परिवारलाई आर्थिक भार परेको छ । दुई वर्ष अघि भाईको मृत्यु भएको र गत जेठ ३ गते मात्रै कामको सिलसिलामा भारतको रत्नागिरी गएको बेला बुबाको भारतमै मृत्यु भएको र अहिले घरमा कमाउने कोही नभएकोले थप उपचारमा समस्या परेको छ । घरमा कमाउने कोही नभएर अहिले दुई सानी छोरी र एक दुधे बालकको पालन पोषनमा समेत समस्या भएकोले उनकी श्रीमति निरुले आर्थिक सहयोगका लागि याचना गरेकी छिन् ।
निरुले यस कठिन परिस्थितिमा आफ्नो श्रीमानको जीवनरक्षाका लागि सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहनुभएका नेपालीहरूलाई आर्थिक सहयोग गरिदिन अपिल गरेकी छिन् । सानो सहयोगले पनि उनको उपचारमा ठूलो राहत पुग्न सक्ने भएकाले सबैलाई मानवीय सहयोगका लागि उनी आग्रह गरेकी छिन् ।
सहयोगका लागि विवरणः
बिरामीको नामः अनिल चौधरी
ठेगानाः कैलारी गाउँपालिका‐१, हरिनगर कैलाली
सम्पर्क नम्बरः ९७१४५६२१६५
बैंकको नामः कुमारी बैंक लिमिटेड, धनगढी शाखा
खाता नम्बरः ०७६०१५२५८१३००००१
श्रीमति ः निरु चौधरी