धनगढी, २४ असोज । धनगढीमा गायक आरके थारु र साङ्घातीकोे प्रत्यक्ष सांगीतिक प्रस्तुती हुने भएको छ ।
“संस्कृतिको झन्कारसँगै मानव सेवा र परोपकार–रसुवा बाढीपीडितको सहयोगार्थ”, यहि असोज ३१ गते उक्त सांगीतिक प्रस्तुती हुने भएको हो । शनिबार धनगढीमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिएको हो ।
सांगीतिक कार्यक्रमका व्यवस्थापक राजाराम चौधरीले थारू कला, संस्कृति, भाषा र संगीतको संरक्षण तथा प्रवद्र्धनसँगै मानव सेवाका लागि सांगीतिक कार्यक्रम आयोजना गर्न गइरहेको बताए । उनले उक्त कार्यक्रममा गायक आरके थारुको ब्याण्ड सहित विशेष प्रस्तुती रहने बताए । साथै उनले गायिका समीक्षा चौधरी, अन्जु कुश्मी र मोडल मधु चौधरीको पनि विशेष प्रस्तुती रहने पनि बताए । कार्यक्रममा थारु समुदायको सखिया नाच, रानाथारुको होरी नाच लगायत किङ मोसनको पनि प्रस्तुती पनि रहने जनाइएको छ ।
आरके थारू र साङ्घातीको आयोजनामा हुने कार्यक्रमका लागि २५० रुपिया टिकट दर निर्धारण गरिएको छ । धनगढीको ओम प्यालेसमा हुने कार्यक्रमको टिकटबाट उठेको रकमको १० प्रतिशत रकम रसुवा बाढी प्रभावितलाई हस्तान्तरण गरिने व्यवस्थापक चौधरीले जानकारी दिए । कार्यक्रमको हस्पिटालिटी पार्टनरमा होटल बसेरा र माछा घर रहेको छ ।