५ बैशाख २०८३, शनिबार April 18, 2026

रोटरी जर्नो अवार्डबाट पत्रकार उन्नती चौधरी पुरस्कृत

४ जेष्ठ २०८२, आईतवार
रोटरी जर्नो अवार्डबाट पत्रकार उन्नती चौधरी पुरस्कृत

धनगढी, ४ जेठ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आयोजित रोटरी जर्नो अवार्ड २०२४–२०२५ बाट पत्रकार उन्नती चौधरी सहित सात जना पुरस्कृत भएका छन् ।


मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेको भन्दै उन्नति चौधरी, खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील रहेको नारायण किलम्बु, पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी रु ५१ हजार रहेको छ ।


‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
रोटरी ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट अग्रज पत्रकार भारदत्त कोइराला पुरस्कृत भएका छन् । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आयोजित रोटरी जर्नो अवार्ड २०२४–२०२५ मा अग्रज पत्रकार कोइरालालाई रु एक लाख एक हजार राशिको रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत गरिएको हो ।
नेपालमा लामो समयसम्म पत्रकारिता तथा सञ्चारको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार अघिल्लो वर्ष स्व।भैरव रिसाललाई प्रदान गरिएको थियो । नेपालको पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने अग्रज पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने उद्देश्यले सुरेश आचार्य र प्रभात योञ्जनले पुरस्कारका लागि योगदान गरेका थिए ।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान श्रेष्ठले रोटरीका बारेमा सर्वसाधारणमा सकारात्मक प्रभाव विकास होस् भन्ने अभिप्रायले पुरस्कारको सुरुआत गरिएको बताए । उनले फेब्रुअरीमा हुने डिस्ट्रिक्ट सम्मेलनमा खानेपानी तथा सरसफाइका क्षेत्रमा काम गर्ने उत्कृष्ट पत्रकारलाई रु २० लाखको पत्रकारिता पुरस्कार प्रदान गरिने जानकारी गराए ।
सम्मानित व्यक्तित्व अग्रज पत्रकार भारदत्त कोइरालाले पत्रकारिता क्षेत्रमा आफूले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नेपाली पत्रकारिताले समाजको रूपान्तरणमा गरेको योगदानलाई सम्मान गर्न गरिएको यो कदम महत्त्वपूर्ण भएको बताए । उनले नेपाली पत्रकारिता विश्वमै गर्व गर्न लायक बनाउन प्रयास गर्ने क्रियाशील पत्रकारहरूलाई पुरस्कृत र सम्पन्न गर्नु महत्त्वपूर्ण कदम भएको धारणा राखे ।
रोटरी जर्नो अवार्ड कार्यक्रमका अध्यक्ष नम्रता शर्माले पुरस्कारका लागि ५० वटाभन्दा बढी आवेदन परेका उल्लेख गर्दै ती आवेदनमध्येबाट सात विधामा सात जनालाई चयन गरिएको हो ।