बैतडी, ३ जेठ । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान जेठ २ गते बैतडीबाट सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गरेका हुन् ।
बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुक्रबार शुभारम्भ गरेका अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव रामचन्द्र भट्टले बताए ।

अभियानको शुभारम्भपश्चात अध्यक्ष दाहालले पाटनस्थित खुलामञ्चमा आयोजना गरिएको आमसभालाई सम्बोधन गरेका थिए । यो अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ । अभियानमा भाग लिन पार्टीका अध्यक्ष ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, गङ्गा दाहाललगायत नेताहरू यहाँ आएका छन् ।
कार्यक्रमलाई बोल्दै पार्टी अध्यक्ष प्रचण्डले गरिब र निमुखाको पार्टी माओवादी मात्रै भएकाले आफूहरूलाई सबैले साथ दिनु पर्नेमा जोड दिए । तराई–पहाड र हिमाललाई एकताबद्ध रूपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उनले बताए । उनले भने, “यो सरकार जनताको विरुद्ध काम गरिरहेको छ । जनताको मतलाई बेवास्ता गर्दै भ्रष्टाचारलाई प्रसय दिने काम गरिरहेको छ । यो अभियानले सरकारलाई खबरदारी पनि गर्ने छ ।”
माओवादी पार्टी जनताको पार्टी रहेको बताउँदै उनले उत्पीडित वर्गको हकअधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले तर्क गरे । किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उनले जोड दिए । उनले भने, “किसानको जीवनस्तर परिवर्तन गर्नका लागि उत्पादन र उत्पादकत्व बृद्धि गरि कृषिमा क्रान्ति गर्न जरुरी छ ।”
सुदूरपश्चिम विकासको गतीमा अझै पछाडि परेको बताउँदै उनले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताए । उनले भने,“देश बलियो हुनका लागि सुदूरपश्चिमको विकास जरुरी छ । हामी सरकारमा हुँदा सुदूरपश्चिममा ठुला योजना र कार्यक्रम सञ्चालन गरेका छौं ।”
२०८४ को आमनिर्वार्चनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान गरे ।
कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उनले सरकारलाई आग्रह गरे । उनले भने, “देशका अन्य प्रदेशमा कर्मचारी ऐन जारी भइसकेपनि सुदूरपश्चिममा अझै आउन सकेको छैन । सुदूरपश्चिमका कर्मचारी ऐनको माग गर्दै आन्दोलित छन् । उनीहरुको माग सम्बोधन गर्न प्रदेश सरकार र केन्द्र सरकारलाई अपिल गर्दछु ।”
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने पार्टीका बैतडी जिल्ला संयोजक शंकर भण्डारीले बताए ।
अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्ने भण्डारीले बताए । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको उनले बताए ।
जेठ २ शुक्रबार बैतडीको पाटनबाट सुरु भएको अभियान जेठ १० गते कास्की पोखरामा समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।