धनगढी, २८ बैशाख । कैलालीको धनगढीस्थित चैतन्य पाठशाला र नेपाल महर्षि वैदिक फाउण्डेसन बिच सचेतनामा आधारित शिक्षाका लागि द्विपक्षीय सम्झौता भएको छ ।
आईतबार पाठशालामा आयोजित एक कार्यक्रमका बिच फाउण्डेशनका अन्तर्राष्ट्रिय डाइरेक्टर राजा किङ्गस्ले, लिसले, निर्देशक मीनराज अधिकारी र पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको उपस्थितिमा सम्झौता गरिएको हो । यो सम्झौताले विद्यार्थीको शैक्षिक यात्रा सार्थक, थप सृजनशील, अन्तरदृष्टियुक्त र जीवनोपयोगी बनाउन मदत पुग्ने जनाइएको छ ।
सम्झौतापत्रमा भनिएको छ, ‘शिक्षण प्रणालीमा भावादित ध्यानलाई समावेश गरिने, जसले विद्यार्थीको मानसिक सन्तुलन, एकाग्रता, आत्मविश्वास र आन्तरिक शान्तिमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।’

‘यसको माध्यमा सृजनशिल प्रज्ञा विज्ञानको विधि पनि अभ्यास गराईनेछ । यस प्रणालीले परम्परागत शिक्षालाई वैज्ञानिक एवं आध्यात्मिकतासँग जोड्ने छ । समग्र जीवन निर्माणका आयामहरू उजागर सँगै आदर्श मानव विकासतर्फ उन्मुख गराउनेछ’ सम्झौतामा उल्लेख छ ।
यसैबिच, यस वर्षदेखि कक्षा ११ सम्म पढाई सञ्चालन गर्न गइरेहको चतन्यले ६० लाख रुपियाँ बराबरको लोक कल्याणकारी छात्रवृत्ति प्रदान गरिने भएको छ ।
चैतन्यले कक्षा ११ र १२ मा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्ने भएको हो । यस वर्षदेखि कक्षा ११ सम्मको पढाई सञ्चालन गर्न गइरहेको विद्यालयले टप २५ विद्यार्थीलाई चैतन्य छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको कुना कन्दरा, दूरदराजमा रहेका प्रतिभावान, मेधावी, जेहेन्दार, आर्थिक विपन्नता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विद्यालयका अध्यक्ष जोशीले बताए । “छात्रवृत्ति प्रक्रियाको लागि प्रतिस्पर्धात्मक परीक्षा सञ्चालन हुनेछ”, उनले भने, “टप २५ विद्यार्थी छात्रवृत्तिका लागि छनोट हुनेछन् । छनोट भएका विद्यार्थीले विद्यालयमा वार्षिक शुल्कमात्रै तिर्नु पर्नेछ । बाँकी अरु सबै शुल्क छात्रवृत्ति अन्तर्गत निःशुल्क हुनेछ ।”