धनगढी, १४ बैशाख । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले रानाथारु संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय रानाथारु भाषा साहित्य सम्मेलन २०२५ लाई उद्घाटन समारोहलाई सम्बोधन गर्र्दै प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम विभिन्न संस्कृति र पहिचानको धनी रहेको भन्दै रानाथारु समाजको संस्कृति र पहिचान पनि पौराणिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको बताए ।
‘सुदूरपश्चिम प्रदेशको कला, संस्कृति, पहिचान आफैमा निकै राम्रो छ । यहाँ सबै समुदायको आ आफ्नो पहिचान छ’, उनले भने, ‘राना थारु समाजको संस्कृति र पहिचान पौराणिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । यसलाई अन्तर्राष्ट्रियस्तर सम्म चिनाउन आवश्यक छ ।’
उद्घाटन सत्रमा प्रदेश प्रमुखसँगै संविधान सभा सदस्य कृपाराम राना, प्रज्ञ दिल्ली आचार्य, डा.निर्मलमणि अधिकारी, राजन मुकारुङ उपस्थित र डा. कृष्ण सर्बाहारी सहभागी थिए । त्यस्तै भारतबाट डा. प्रेमसिंह राना र ओमप्रकाश रानासहित रानाथारु भाषा विज्ञ, साहित्यकार, अनुसन्धानकर्ता र सांस्कृतिक अभियन्ताहरूको पनि सम्मेलनमा सहभागिता रहेको छ ।
रानाथारु समुदायको भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना गरिइएको सम्मेलन दुई दिनसम्म जारी रहने छ । सम्मेलन आयोजक समितिका संयोजक पदम रानाले रानाथारु भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
कार्यक्रममा रानाथारु भाषा सम्बन्धी अनुसन्धान पत्र प्रस्तुति, कविता तथा कथा बाचन, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्य प्रस्तुत गरिने छ । साथै, रानाथारु भाषामा प्रकाशित पुस्तकहरूको प्रदर्शनी पनि गरिनेछ ।
स्थानीय सरकार, रानाथारू समाज तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो ।