५ बैशाख २०८३, शनिबार April 18, 2026

लम्कीचुहामा “चिरैं” पर्व एकसाथ मनाइने

१६ चैत्र २०८१, आईतवार
लम्कीचुहामा “चिरैं” पर्व एकसाथ मनाइने

धनगढी, १७ चैत । थारु समुदायमा ‘कन्या स्वतन्त्रताको पर्व’ को रुपमे लिइने चिरैं पर्व लम्कीचुहा नगरपालिकामा एकसाथ मनाउने भएको छ ।


चैत शुक्ल पक्षमा मनाइने “चिरैं” पर्व पालिकाका सबै थारु गाउँमा चैत्र १९ गते मनाउने भएको हो । पर्वमा एकरुपता ल्याउनका लागि बरघर भलमन्सा समितिले पालिकाभर एकसाथ मनाउने भनि निर्णय गरिएको बरघर भलमन्सा समितिका अध्यक्ष दशराम थारुले जानकारी दिएका छन् ।
“चिरैं” पर्व एकै दिन सँगै मनाउनुको औचित्यबारे प्रष्ट पार्दै अध्यक्ष थारुले भने, ‘अहिले किसानहरु काममा व्यस्त छन् । शुक्ल पक्षभरी पर्व मनाउँदा काममा लागेकाहरुलाई डिस्टर्ब हुन्छ । त्यसैगरी अलग अलग दिन पर्व मनाउँदा विद्यार्थीहरुको पढाईमा पनि असर पर्छ । समुदायको एकता एकरुपतामा पनि प्रश्न उठ्छ । त्यसैले एकै दिन सँगै मनाउने निर्णय गरेको हौं ।’
गत वर्ष पनि लम्कीचुहा नगरपालिकामा चिरैं भजहर सबै गाउँले सँगै मनाएका थिए ।


“चिरैं” पर्वलार्ई थारु समुदायमा ‘कन्या स्वतन्त्रताको पर्व’ को रुपमा लिइन्छ । तर पर्वमा सहभागी हुन महिलाहरुलाई कुनै बन्देज छैन । “चिरैं” कन्या स्वतन्त्रताको पर्व भएको हुँदा यस दिन चेलीबेटी, छोरीहरुलाई खुशी राख्नुपर्ने थारु समुदायका हरेक अभिभावक आफ्नो कर्तब्य ठान्दछन् । भोकै नरहून् भनी आमा, बज्यैहरु दिउँसोको नास्ता बोकी चेलीबेटीहरुलाई दिन पनि जान्छन् ।
“चिरैं” पर्वमा केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । खाना खाई गाउँ भन्दा बाहिर बगिया (फलफूलको बगैंचा), बरपिपल वा कुनै रुखबरीख भएको ठाउँमा भेला हुन्छन् । गुरुवाले पुजा गरिसकेपछि केटीहरु आफूलाई मन परेको खेल (तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि) खेल्दछन् । उनीहरु चरा झैं स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वेच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ (बढोत्तरी हुन्छ) भन्ने मान्यता रहेको छ ।
यो पर्वमा ७ देवी (दुर्गा, काली, मरी, घोटैली, मैया, डहरचण्डी, बनसप्ती) को पूजा हुन्छ । देवीलाई श्रृङ्गार भाकल गरिएको हुन्छ । त्यसैले चेलीबेटीहरु सजिएर खेल्दा देवी खुशी हुन्छन् र समुदायमा सुख शान्ति बनिरहन्छ भन्ने आम विश्वास रहेको छ ।