५ बैशाख २०८३, शनिबार April 18, 2026

पत्रकारको हत्या गर्नेलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

१५ चैत्र २०८१, शनिबार
पत्रकारको हत्या गर्नेलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

धनगढी, १६ चैत । पत्रकार सुरेश रजकको हत्या र मिडिया गृहमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै पत्रकारले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको आयोजनामा विरोध प्रदर्शन गरिएको हो । घटनाको भत्र्सना गर्दै पत्रकारले दोषीलाई कारबाही गर्न माग गरेका छन् । हत्याको विरोधमा पत्रकारले धनगढीको ट्राफिक चौराहादेखि बसपार्कसम्म विरोध प्रदर्शन गरिएको थियो । सो प्रदर्शन ट्राफिक चौराहा पुगेर विरोधसभामा परिणत भएको थियो ।
शुक्रबार काठमाडौँको तीनकुनेस्थित एक घरमा आगो लगाएर पूर्व राजावादी आन्दोलनकारीले पत्रकार रजकलाई जिउँदै जलाएका थिए । यसैगरी, विभिन्न सञ्चारगृहमा तोडफोड गरिएको थियो । आन्दोलनको नाममा अराजक जत्थाले नियोजित रूपमा पत्रकारको हत्या र सरकारी तथा व्यक्तिगत सम्पत्ति तोडफोड गरेको नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले बताए । उनले मागको नाममा अराजकता फैलाउन कसैलाई छुट नरहेको उल्लेख गरे ।
त्यस्तै, नेपाल प्रेस युनियनका सुदूरपश्चिम अध्यक्ष मनमोहन स्वाँरले तीनकुने घटना सुनियोजित रहेको बताए । उनले लोकतन्त्रमाथि नै आघात गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध एकजुट हुन र लोकतन्त्र रक्षाका लागि कलम चलाउन पत्रकारलाई आग्रह गरे । राजा फर्काउने नाममा शुक्रबार गरिएको प्रदर्शन अराजक रहेको स्वाँरको भनाइ छ ।
विरोध सभालाई नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मीन बम, कैलालीका पूर्व अध्यक्ष दीर्घराज उपाध्याय, प्रेस चौतारीका जिल्ला अध्यक्ष जनक विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष उन्नती चौधरी, प्रेस सेन्टरका जिल्ला सचिव राम दहित, समाजवादी प्रेस सङ्गठनका जगत जैगडी लगायतले सम्बोधन गरेका थिए ।