संस्कृति संरक्षण सम्बद्र्धनका लागि मलेसियामा थारु माघी मिलन कार्यक्रम


आरएन चौधरी थारु
क्वालालम्पुर, ७ माघ । प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय समिति पेनाङको मुख्य आयोजना तथा थारु समाज केन्द्रिय समिति र थारु समाज क्षेत्रीय समिति जोहोरको सहआयोजनामा थारु (माघ) माघी कार्यक्रम २०१९ आईतबार पेनाङमा भब्य सम्पन्न भएको छ ।
थारु समुदायको कलासंस्कृति, रितिरिवाज र पहिचानलाई देश विदेशमा चिनाउनका लागि माघी कार्यक्रम आयोजना गरिएको हो । यसका साथै संस्कृति संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थारु समाज क्षेत्रीय समिति पेनाङका अध्यक्ष परशुराम चौधरी थारुले बताए ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने २६४२ औं माघ (माघी)को सुखद उपलक्ष्यमा अध्यक्ष चौधरीले शुभकामना सन्देश दिएका थिए । यसका साथै उनले राज्यले थारु समुदायप्रति गरिने व्यवहार, दमन अत्याचारलाई कदापी सहन नसकिने बताएका थिए । उनले राज्यले थारु समुदायमाथि गरिने व्यवहार, दमन अत्याचारका विरुद्ध देश र प्रदेशमा बस्ने थारु एकजुट हुन औल्याएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समजका केन्द्रिय अध्यक्ष मनिराम थारुले माघको शुभकामना सन्देश दिदै सरकारले आदिवासी जनजातिहरुको चाडपर्वमा दिईने बिदा कटौटी बारे विरोध गरेका थिए । उनले सरकारले आदिवासी जनजातीहरुको चाडपर्वमा दिइने विदा कटौती बारे आफ्नो गल्ती सच्याउन आग्रह समेत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षणमा थारु खाना परिकार र थारु नृत्य, लठ्ठी नाच रहेको थियो । थारु समाजको क्षेत्रीय महासचिव मनिष चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रमको प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष मनिराम थारु रहेका थिए भने, अतिथीहरुमा समाजकी केन्द्रिय महिला उपाध्यक्ष सरिता चौधरी, कोषाध्यक्ष बिरेन्द्र चौधरी, वरिष्ठ सल्लाहकार रमेश चौधरी, मगर संघ पेनाङको अध्यक्ष युवराज मगर,किरात राई यायोक्खाबाट केवाल कुलुङ, तामाङ समाजबाट रामकाजी तामाङ , राष्ट्रवादी विकाश अभियान नेपालको प्रतिनिधि देवेन्द्र लिम्बू,जनउद्धारको प्रतिनिधि शेर बहादुर श्रेष्ठ, दलित एकता सेवा समाजको प्रतिनिधि राधा लुहार लगायत पत्रकार, नेपाली व्यवसायीहरु, थारु समुदायको युवा, युवतीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पत्रकार तथा समाजिक अभियान्ता आर एन चौधरी थारुको नेतृत्वमा दुई बर्ष पहिला मलेसियामा थारु समाज स्थापना भएको थियो भने हाल यस् संस्थाको शाखा पेनाङ संगै जोहोरमा समेत रहेको छ । साथै गत बर्ष पनि मलेसियाको क्वालालम्पुरमा थारु राष्ट्रिय माघी महोत्सव भव्य सम्पन्न भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *