१५ बैशाख २०८३, मंगलवार April 28, 2026

बर्दियाको जोतपुरमा ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु

१६ फाल्गुन २०८१, शुक्रबार
बर्दियाको जोतपुरमा ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन सुरु

बर्दिया, १६ फागुन । ९औं थारू साहित्य राष्ट्रिय सम्मेलन बर्दियाको राजापुर नगरपालिकामा शुक्रबारबाट सुरु भएको छ । सो सम्मेलन थारू लेखक सङ्घ नेपाल तथा जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियास्थित राजापुर–२, जोतपुर गाउँमा सुरु भएको हो ।
थारू लेखक सङ्घ नेपालका अध्यक्ष डा. कृष्णराज सर्वहारीको अध्यक्षतामा सुरु भएको सम्मेलनको प्रारम्भमा वरिष्ठ साहित्यकार डा. राजकुमार थारूको ‘थारू साहित्य र अन्य समालोचना’, गणेश वर्तमानको ‘लौटल मनिया’, सुनसरी जिल्लाको ‘हौली’ पत्रिका र ‘पोष्टाको घुर्घट खोलाई’ को विमोचन गरिएको थियो ।
कार्यक्रममा थारू राष्ट्रिय आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरी, सदस्य सुवोध थारू, पूर्व मन्त्री डा. गोपाल दहित, राजापुर नगरपालिकाका मेयर दिपेश थारू र कन्चनपुरी समाजसेवी सुनिता चौधरी लगायतले थारू साहित्यको अवस्था र त्यसको संरक्षण तथा विकासका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।


शनिबारसम्म चल्ने सो सम्मेलनमा आठ वटा छलफल सत्र राखिएकोमा शुक्रबार ‘राजापुर नगरपालिकाको शिक्षा यात्रा’ शीर्षकमा राजापुर नगरपालिकाका मेयर दिपेश थारू राजेश, पूर्व जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह, पूर्व प्रधानाध्यापक किरण आचार्यसँग युवक माविका प्रधानाध्यापक नरेशकुमार थारूले बहस सम्पन्न गर्नुभएको जङ्ग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौराले बताए । उनले सोही प्रकारले शुक्रबारनै पूर्व मन्त्री डा गोपाल दहित, लुम्विनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारु कबिरसँग अधिवक्ता सन्तराम धारकटुवा थारूले विकास र बाधा शीर्षकमा छलफल गर्नु भएको पनि बताए ।
यसैगरी संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवतीप्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेसन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारू महाभारत) का पात्रबारे बहस सम्पन्न भएको छ । सोही प्रकारले सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मेयर दिपेश थारू राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारूसँग अध्येता शेखर दहितले बहस कार्यक्रम गरेका थिए ।

सोही कार्यक्रममा थारू भाषा साहित्यमा कलम चलाउने अधिकारकर्मी तथा लेखक सुशिल चौधरीलाई ‘थारू साहित्य पुरस्कार २०८१’ बाट सम्मान गरिएको छ । बढैयाताल गाउँपालिका–८, बर्दियाका चौधरी विशेष गरि थारु लोक कला तथा साहित्यमा कलम चलाएका छन् भने उनका चर्तित कृतिमा बिरहुल बसिया कविता संग्रह, हिट्वा नाटक, दहितान ढेँकी, लगाखिन एल्वम्, फुटकर कविता लगायत रहेका छन् ।
प्रतिभा महिला सशक्तिकरण पुरस्कारबाट बेलौरी नगरपालिका वडा नम्बर ७ कञ्चनपुरकी सामाजिक अभियन्ता सुनिता चौधरी ‘सानु’ सम्मानित हुने भएकी छन् । महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेबाफत उनलाई सम्मान गर्ने भएको हो । पुरस्कार राशी नगद २५ हजार रहेको छ ।
रोडन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । सञ्चालक चौधरीले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । कोरोका कारण २०७८ मा उनकी श्रीमति प्रतिभाको निधन भएको थियो ।