धनगढी, ३० माघ । धनगढी उपमहानगरपालिकाले शिक्षाविद् डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गरेका छ ।
उपमहानगरपालिकाको संयोजनमा डा. पन्तलाई आज बुधबार धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।
नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए । धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरिक अभिनन्दन गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका नगरप्रमुख हमालले शिक्षा विद् हमालले २०३७ सालदेखि हालसम्म धनगढीमा कर्मथलो बनाएर सुदूरपश्चिमको शिक्षा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बताए ।
उनले भने, ‘कैलाली बहुमुखी क्याम्पस थिएन । कैलाली व्यवस्थापन क्याम्पस थियो । पछि मात्र कैलाली बहुमुखी क्याम्पस नाम राखिएको हो । सुरुमा भौतिक संरचनाहरू पनि थिएन । विस्तारै संरचनाहरू तयार भए । अहिलेको अवस्थामा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ । त्यसैले उहाँलाई हामी नागरिक अभिनन्दन गरेका हौ ।’
पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाएका थिए । १४५ विद्यार्थीबाट सुरु गरिएको कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए । प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदमा रहेर काम गरे ।
डोटीको शिखर नगरपालिका–९ उच्चाकोट (सिद्धेश्वर गाउँ पञ्चायत) मा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।
सुदूरपश्चिमको शैक्षिक धरोहर कैलाली बहुमुखी क्याम्पसले हालसम्म हजारौँ विद्यार्थीलाई शैक्षिक योग्यता, जीवनोपयोगी सिप र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने शिक्षा दिएको छ । डा. पन्तका बुवा खगेन्द्र नाथ आयुर्वेदाचार्य थिए । उनी जन्मिएको वर्ष उनका बुवा डोटी सिलगढीमा आयुर्वेद औषधालयका प्रमुख थिए ।
बुवाको सरुवा डडेल्धुरा भएपछि पन्तको प्रारम्भिक शिक्षा त्यही भएको थियो । उनले ८ कक्षासम्मको पढाइ उच्चाकोटकै सीताराम माविबाट पूरा गरेका थिए । दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी पास परेका पन्तले त्रिचन्द्र कलेजबाट २०३१ सालमा आइकम गरे । उनले शंकरदेव क्याम्पसबाट विकम गरे । २०३७ सालमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे ।
२०३१ सालमा १९ वर्षको उमेरमा सरस्वती ओझासँग वैवाहिक बन्धनमा बाँधिएका उनका दुई छोरा र एक छोरी छन् । २०६८ सालमा सरकारले महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको स्थापना भयो । उनी त्यसको रजिस्ट्रार नियुक्त भएका थिए । चार वर्षे कार्यकाल पुरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भए । र, फर्केर फेरि कैलाली बहुमुखी क्याम्पसमा पढाउन थाले । २०७४ सालमा उनी सेवानिवृत्त भएका हुन् ।