५ बैशाख २०८३, शनिबार April 18, 2026

भितरिया र मोहनपुर जोड्ने झोलुङ्गे पुलको ८० प्रतिशत काम पूरा

१३ माघ २०८१, आईतवार
भितरिया र मोहनपुर जोड्ने झोलुङ्गे पुलको ८० प्रतिशत काम पूरा

धनगढी, १२ माघ । कैयौँ वर्षदेखि दुःखको नदी तर्दै आएका मोहना नदीपारिको गाउँ मोहनपुरवासीको पुलमा हिँड्ने सपना पूरा हुँदै छ । संघीय सरकारको लगानीमा कैलारी गाउँपालिका–४ को भितरिया र वडा नम्बर ३ को मोहनपुर जोड्ने स्थानमा भितरिया–मोहनपुर कैलारी झोलुङ्गे पुल बनिरहेको हो । पुल नहुँदा मोहनपुर गाउँवासीले बर्खामा मात्रै हैन हिउँदमा समेत सास्ती खेप्दै आएका छन् ।
पुलमा हिँड्ने सपना पूरा हुने भएपछि मोहनपुरवासी उत्साहित देखिएका छन् । झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज हुने सैतुराम चौधरीले बताए । नदीमा पुल नहुँदा स्थानीयले बर्खाभरि डुङ्गा र हिउँदमा काठे पुल बनाएर ओहोरदोहोर गर्छन् । विपतको उच्च जोखिममा रहेका सो गाउँमा बाढी आउँदा गाउँवासी भारतको जङ्गलमा गएर बस्न बाध्य हुन्छन् । अब पुल निर्माणको काम चाँडै पूरा भई सबैलाई सहज हुने वडा नम्बर ४ का वडाध्यक्ष ठागुराम चौधरीले बताए । यो पुल बनेमा वडा नम्बर ४ को भितरिया, के गाउँका स्थानीयलाई समेत पारि जान र फर्कन सहज हुने जनाइएको छ । पुल निर्माणको काम भइरहेको छ, चाँडै प्रयोगमा आउने सस्पेन्सन ब्रिज डिभिजन कार्यालय धनगढीका इन्जिनियर प्रवीण शाहले दाबी गरे । उनका अनुसार पुल जोड्ने काम लगभग ८० प्रतिशत पूरा भइसकेको छ । अन्तिम रूप दिने काम भइरहेको छ । “सम्भवतः एक महिनाभित्रै पुल सञ्चालनमा आउँछ,” इन्जिनियर शाहले भने ।
झोलुङ्गे पुलका लागि तीन करोड ८१ लख रुपियाँ बजेट स्वीकृत भएको थियो । दुई करोड ९७ लाख रुपियाँमा ठेक्का पाएर एम–थेगिम–सनलाइट जेभीले काम गरिरहेको जनाइएको छ । ३१६.६० मिटर लम्बाइ रहेको झोलुङ्गे पुलको तोकिएको समायवधिमा बन्न नसकेपछि म्याद थप गरिएको छ । नदीमा पानी बढ्दा मोहना नदीपारि निर्माण सामग्री लैजान समस्या भई काम हुन नसकेपछि म्याद थप भएको इन्जिनियर शाहले बताए । “तोकिएको समयमा काम हुन नसकेपछि खरिद नियमावली अनुसारै म्याद थप भएर काम भइरहेको छ,” उनले भने ।
गोरखापत्रबाट