५ बैशाख २०८३, शनिबार April 18, 2026

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्षमा शाह

३० मंसिर २०८१, आईतवार
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्षमा शाह

धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा भरतबहादुर शाह निर्वाचित भएका छन् । प्रेस युनियनका बागी उम्मेदवार मिन बमलाई पराजित गरी शाह अध्यक्षमा निर्वाचित भएका हुन् । महासचिवमा प्रेस चौतारीका उम्मेदवार शिवराज भट्ट निर्वाचित भएका छन् ।
विजयी शाहले ४३६ र पराजित बमले १४८ मत प्राप्त गरेका छन् । यस्तै, नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखा अध्यक्षमा श्रवण देउवा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेश धामी विजयी भएका छन् । उनले ५८ मत प्राप्त गरी जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र अवस्थीले ४६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, डोटी जिल्ला अध्यक्षमा नेपाल प्रेस युनियनका प्रकाश बम सर्वसम्मत निर्वाचित भएका छन् । बैतडी जिल्ला अध्यक्षमा नरी बडु विजयी भएका छन् । यसैगरी, दार्चुला जिल्ला अध्यक्षमा राजेन्द्रसिंह धामी निर्विरोध निर्वाचित भएका छन् ।
डडेल्धुरा जिल्ला अध्यक्षमा पुष्कर भण्डारीलाई एक मतले पराजित गर्दै हिक्मतबहादुर सिंह अध्यक्षमा निर्वाचित भएका छन् । बाजुरा जिल्ला अध्यक्षमा पदमबहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, अछाम अध्यक्षमा रमेश रावत विजयी भएका छन् । गीता कुँवरलाई पराजित गरी उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेपाल पत्रकार महासंघ बझाङ शाखामा भने अध्यक्षका उम्मेदवार ललित सिंह र ढेपबहादुर विष्टले सामान ३३–३३ मत प्राप्त गरेपछि अध्यक्षको टुङ्गो लाग्न सकेको छैन ।