१३ बैशाख २०८३, आईतवार April 26, 2026

जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम शीर्ष स्थानमा

२६ मंसिर २०८१, बुधबार
जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम शीर्ष स्थानमा

काठमाडौँ, २६ मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । यो सँगै सुदूरपश्चिम रोयल्सले शीर्ष स्थानमा उक्लेको हो ।
टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २३ रनमात्र बनाउन सकेको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शीर्ष दुई टोली बीचको प्रतिस्पर्धामा जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमा अलआउट भयो । जारी एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।
पहिलो चार खेल जितेको जनकपुरको यो पहिलो हार हो । जनकपुरसँगै ८ रन भए पनि सुदूरपश्चिम राम्रो रन रेटका आधारमा शीर्ष स्थानमा छ ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका जोशुआ ट्रम्प बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । नवौं खेलाडीको रुपमा आउट भएका ट्रम्पले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । कप्तान अनिल साह ७ बल खेलि शुन्यमा आउट भएका थिए । आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष ठाकर ५, जिम्मी निसम ४, शुभ कंसाकार शून्य, अरनिको यादव १, शेर मल्ल शून्य र ललित राजवंशी ४ रनमा आउट भएका थिए ।
यसअघि सैफ जैब र भेट्रान विनोद भण्डारीले पहिलो विकेटमा ८ ओभर भित्र ५५ रन जोडे पनि सुदूरपश्चिमले त्यसको फाइदा उठाउन सकेको थिएन । हर्ष ठाकरले इंग्लिस ब्याटर जैबलाई २१ रनमा आउट गरेसँगैं सुदूरपश्चिमको रनमा अंकुश लाग्नुका साथै विकेट पतन पनि सुरु भएको थियो । जैबले २१ बल खेलि ३ चौका प्रहार गरेका थिए ।
प्रतियोगितामा पहिलो खेल खेलिरहेका हरमित सिंहलाई शेरले १ रनमा आउट गरेका थिए । विनोद पनि शेरकै शिकार भएका थिए । विनोदले सुदूरपश्चिमबाट सर्वाधिक ३३ रन बनाए । उनले ३७ बल खेलि ३ चौका र १ छक्का प्रहार गरेका थिए । अरनिकोले कप्तान दीपेन्द्रलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई ११ रनमा आउट गरेपछि सुदूरपश्चिम झनै दबाबमा परेको थियो ।
तीब्र बलर किशोर महतोले एकै ओभरमा आरिफ शेख (६), इशान (१७) र स्कट कुग्लेन (७) लाई आउट गरेपछि जनकपुर खेलमा हावी भएको थियो । किशोरले ४ ओभरमा ३५ रन खर्चेर विकेट लिए । शेरले ४ ओभरमा १९ र अरनिकोले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिएका थिए ।
बुधबार भएको दोस्रो खेलमा काठमान्डु गुर्खाजसँग लुम्बिनी लायन्ल १८ रनले पराजित भएको छ ।
काठमान्डु गुर्खाजसँग पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको छ । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।
काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ । काठमान्डुले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि सन्दिप जोराले २९ बल खेल्दै २ चौका मदतमा सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४ रन जोडेका थिए । सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । दिपेश कँडेलले किफायती बलिङ गर्दै ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिएका थिए ।
कजेरार्ड एरासमसले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । रासिद खानले १ विकेट लिए । शाहब आलमले विकेट नलिएपनि किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाएका थिएका । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाएका थिए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिएका थिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारेका थिए ।