धनगढी, ३ मंसिर । सामुदायिक वनहरुमा आदिवासी थारु महिला र दलित महिलाको अवस्था र उनीहरुमाथि हुने लैंगिक विभेद न्यूनीकरण गर्ने उद्देश्य सहित धनगढीमा दुई दिने तालिम सुरु भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ)को आयोजना तथा डीसीएको सहयोगमा पत्रकारहरुका लागि दुई दिने तालिमको आयोजना भएको हो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ)ले डीसीएको सझोदारीमा कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकामा ‘वुमेन इन्भाइरोमेन्ट ह्युमेन राइट डिफेन्डरस् रेजिस्टिंग जेण्डर वेसड् भाइलेन्स (रेसिस्ट) परियोजना’ सञ्चालन गरेको छ ।
उक्त परियोजना अन्र्तगन ती स्थानीय तहका सामुदायिक वनहरुमा हुने लैंगिक हिंसाका घटनाहरु पत्रकारिताको माध्यमबाट समेट्ना र व्यवस्थित दस्तावेजिकरण सहित तथ्यमा आधारित पैरवी गर्ने उद्देश्यले तालिम आयोजना गरेको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ(निफ)की कार्यकरी निर्देशक इन्दु थारुले जानकारी दिइन् ।
तालिमका सहजकर्ता तथा पत्रकार वसन्तप्रताप सिंहले सामुदायिक वनको मार्ग निर्देशन २०८१ मा भएको आदिवासी जनजाति, सिमान्तकृत समुदाय, दलित, विपन्न वर्ग महिलाका लागि गरिएको वस्थस्था र कार्यान्वयनको पक्षबारे छलफल गराएका थिए । साथै उनले मानव अधिकार रक्षक तथा प्रर्वद्धनको लागि मिडियाको भूमिका विषयबारे आफ्नो प्रस्तुतीकरण राखेका थिए ।
तालिममा विभिन्न मिडियामा आवद्ध २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।