५ बैशाख २०८३, शनिबार April 18, 2026

धनगढीमा सुदूरपश्चिम रोयल्सको र्‍याली

३ मंसिर २०८१, सोमबार
धनगढीमा सुदूरपश्चिम रोयल्सको र्‍याली

धनगढी, ३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज सोमबार ¥याली प्रदर्शन गरेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्‍याली प्रदर्शन गरेको हो ।

¥यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, नेपाल क्रिकेट सङ्घ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, टोली मालिक स्वतन्त्र प्रताप शाह, ओलम्पियन तथा रोयल्सका ब्रान्ड एम्बेसडर दीपक विष्ट, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, लगायत क्यान कार्यसमिति सदस्यहरू, विभिन्न खेलका प्रदेश तथा जिल्ला सङ्घका पदाधिकारी सहभागिता रहेको थियो ।

यसैगरी, टोलीका मुख्य प्रशिक्षक जगत टमटा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत समर्थक तथा शुभेच्छुक र्‍यालीमा सहभागी थिए । र्‍यालीमा स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकी पनि देखाइएको थियो ।

रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । उनले र्‍यालीले स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको उल्लेख गरे ।

सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ । क्यानको आयोजनामा आठ टोली सहभागी रहने एनपीएल मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहेका छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमटा रहेका छन् ।
रोयल्समा आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड) र रोहन मुस्तफा (युएई) का खेलाडी रहेका छन् ।