१३ बैशाख २०८३, आईतवार April 26, 2026

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

५ कार्तिक २०८१, सोमबार
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

काठमाडौँ, ५ कात्तिक । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
नेपालको लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए । उनले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाएका हुन् ।
कुशल मल्लले अविजित ४४, कुशल भुर्तेलले अविजित ४० र ओपनर अनिल शाहले १३ रन बनाएका थिए । बलिङमा अमेरिकाका जुनोय ड्रेसडाले र जसदीप सिंहले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेकिाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाएका थिए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित अविजित ४३ रन, एरोन जोन्सले १३ र हरमित सिंहले अविजित १० रन बनाएका थिए ।
बलिङमा नेपालका नेपालका सोमपाल कामीले तीन विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट झारे । नेपालका आशिफ प्लेयर अफ दि म्याच र सोमपाल कामी प्लेयर अफ दि सिरिज भए ।
आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन वटा टी–२० क्रिकेट खेलेको हो ।
टी–२० सिरिज पछि अब आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड रहेको छ ।
लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।