६ बैशाख २०८३, आईतवार April 19, 2026

कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

२८ भाद्र २०८१, शुक्रबार
कैलालीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

धनगढी । कैलालीका धेरै स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरैया नदीको जलसतह बढ्दो क्रममा छ । नदीतटीय क्षेत्र र होचा स्थानमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
‘पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएको, मोहना, खुटिया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ र सतर्कता–खतरा आसपास, बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुबान हुने होचा स्थानमा हुनेहरू साँझसम्म उच्च सतर्कतासाथ सुरक्षित स्थानमा रहन अनुरोध छ,’ विभागको सूचनामा उल्लेख छ ।
यता वर्षासँगै चलेको हावाहुरीले सुदूरपश्चिमको विभिन्न जिल्लाका धानबालीमा नोक्सान पु¥याएको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षासँगै चलेको हावाहुरीले धानबाली नोक्सानी भएको हो ।

पसाउन लागेको धान हावाहुरीले सोतर पारेपछि किसानहरू चिन्तित बनेका छन् । कैलाली गाउँपालिका ६ बेनौलीका स्थानीय बलबहादुर चौधरीले भर्खरै पसाउन थालेको १० कट्ठा बढी जमिनमा रोपिएको धान सोतर परेको बताए ।
हावाहुरीसँगै निरन्तर वर्षा समेत भइरहेकोले कैलाली र कञ्चनपुरमा डुबानको समेत त्रास बढेको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।