धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासीन कांग्रेस र एमालेले दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ । संविधानमा हामीले धेरै मेहनत गरेर समावेशी र समानुपातिकको व्यवस्थालाई राखेका छौ । त्यसमा दलित मुस्लिम, महिला, मुस्लिम, थारुहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन । उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ । समानुपातिक भनेपछि माओवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ ।’
अध्यक्ष प्रचण्डले दुई तिहाइको घमन्ड गरे बङ्गलादेश र श्रीलङ्काको अवस्था आउनसक्ने बताए । उनले भने, ‘उहाँहरूले जतिबेला जे पनि गर्नुहुन्छ । कहिले संसद् नै भङ्ग गरिदिनुहुन्छ । त्यसैले दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमन्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’
यसैबिच प्रचण्डले माओवादी फुट्छ भन्ने हल्ला भ्रम मात्रै रहेको बताएका छन् । आफूहरू झन् एकताबद्ध भएकाले र आफ्नो पार्टीभित्र मात्रै होइन बाहिर रहेको माओवादी घटक क्रान्तिकारी शक्तिहरूलाई एउटै पार्टी बनाएर लैजान सशक्त रूपमा लागेको पनि बताए ।
देशमा सुशासन र सामाजिक न्याय तथा भयानक आर्थिक संकटलाई सामान्य बनाउनेतर्फ आफूहरू लागेको उनको भनाइ थियो ।